चीनको ताक्लाकोटलाई जोड्ने दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुल्यो
पढ्न लाग्ने समय :
दार्चुला : चीनको ताक्लाकोटलाई जोड्ने सीमानाका रूपमा रहेको दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुलेको छ । दार्चुलाको उत्तरी क्षेत्रमा रहेको व्यास गाउँपालिका–१ मा पर्ने तिङ्कर नाका छाङरु र तिङ्कर गाउँमा बसोबास गर्ने सौका समुदायका मानिसलाई चिनियाँ पक्षले अनौपचारिक रूपमा विगतको चलन अनुसार ताक्लाकोट प्रवेश दिन थालेको हो ।
गत २०८२ कात्तिक अन्तिम साता बन्द भएको नाका सोमबार खुलेको व्यास गाउँपालिका–१, छाङरुका स्थानीय व्यापारी एवं नेपाल–चीन हिमालयमैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहोराले बताए। सताव्दिऔँदेखि यहाँको छाङरु र तिङ्कर गाउँका सौका समुदायका मानिस चीनको स्वशासित क्षेत्रस्थित ताक्लाकोट बजारमा व्यापारका लागि जाने गर्छन् । कोरोनाको समयमा लामो समय बन्द भएको यो नाका गत वर्षदेखि खुल्दै आएको छ ।
तिङ्कर नाका आधिकारिक नाकाका रूपमा नभए पनि विगत लामो समयदेखि यहाँका सौका समुदायका मानिस ताक्लाकोटको स्थानीय सरकारसँगको समन्वयमा तिङ्कर नाका प्रयोग गर्दै आवतजावत गर्ने गर्छन् ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि चीनको ताक्लाकोटस्थित स्थानीय सरकार विदेश विभागका प्रतिनिधिसँग व्यापारीका लागि नाका सञ्चालनका विषयमा आग्रह गरेको उनले बताए । नाका खुलेसँगै यहाँका ६३ जना व्यापारी व्यापार व्यवसायका लागि ताक्लाकोट गएका छन् । उनले भने, “ताक्लाकोटमा केही महिना खाद्य सामग्री र लुत्ताकपडाको व्यापार गर्छौं । सोही व्यापारबाट आम्दानी भएको पैसाले जीविका चलाउँछौँ ।” ताक्लाकोटमा दार्चुलाका स्थानीयले ३२ वटा पसल र चार वटा होटेल सञ्चालन गर्दै आइरहेका छन् । गत वर्ष साउन ७ देखि ९ गतेसम्म दुई दिनका लागि खुलेको तिङ्कर नाका यस वर्ष पनि खुलेको छ ।
स्थानीयको आवश्यकता अनुसार ताक्लाकोटको स्थानीय सरकारले नाका खुल्ने तथा बन्द गर्ने गरेको उनको भनाइ छ । नेपाल–चीन तिङ्कर नाका खुलेको बारे व्यासका स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनील पौडेलले बताए। उनले भने, “नाका खुलेको विषय जानकारीमा छ । विगतदेखि नै ताक्लाकोट व्यापार गर्दै आएका स्थानीयसँगको समन्वयमार्फत नाका खुलेको हो । नाका खुलेको जानकारी मन्त्रालयलाई पठाउँछौँ ।”
विगतदेखि नै छाङरु र तिङ्करका ७०÷८० जना नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली र भारतीय सामानको व्यापार गर्दै आइरहेका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार यस वर्ष चीनको ताक्लाकोट जानका लागि व्यास गाउँपालिकाका २१२ जनाले तिब्बत प्रवेश अनुमतिपत्र लिएका छन् ।
तीमध्ये १५२ जनाले अनुमतिपत्र नवीकरण गराएका छन् भने ६० जनाले नयाँ अनुमतिपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले बताए।
चीनले तिङ्करभन्ज्याङको १ नम्बर सीमास्तम्भभन्दा आधा घण्टाको दुरीमा रहेको सापु भन्ने ठाउँमा सुरक्षाकर्मी बस्ने संरचना निर्माण गरेर कच्ची सडक पु¥याएको छ । चीनतर्फ सापुमा सुरक्षाकर्मीको चेकपोस्ट रहेको छ भने नेपालतर्फ व्यास गाउँपालिका–१, तिङ्करगाउँको छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको प्रहरी चौकी सञ्चालनमा छ ।
कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहेको ताक्लाकोट नाका आर्थिक वर्ष २०८०/८१ देखि व्यापारीको आवतजावतका लागि मात्रै खुल्दै आएको छ ।