मधेश प्रदेशको बजेट घटेर आयो

Monday June 15, 2026

पढ्न लाग्ने समय :


ढल्केबर : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपियाँकोे बजेट सार्वजनिक गरेको छ ।
यो चालु आर्थिक वर्ष २०८२/०८३ को ४६ अर्ब ५८ करोड रुपैयाँको बजेटभन्दा करिब पाँच अर्ब ४४ करोड रुपियाँले कम हो । सोमबार प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गरे ।
प्रस्तावित बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपियाँ तथा पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपियाँ विनियोजन गरिएको छ । कुल बजेटमा चालु खर्चको हिस्सा ३५।६४ प्रतिशत र पुँजीगत खर्चको हिस्सा ६४।३६ प्रतिशत रहेको छ ।
बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक राजस्व तथा अन्य आन्तरिक स्रोतबाट ११ अर्ब २२ करोड ७५ लाख रुपियाँ जुटाइने अनुमान गरिएको छ । यस्तै, सङ्घीय सरकारबाट राजस्व बाँडफाँटमार्फत १२ अर्ब ८३ करोड रुपियाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।
सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान नौ अर्ब ४९ करोड ५९ लाख रुपियाँ रहनेछ । साथै, चालु आर्थिक वर्षको बाँकी नगद मौज्दातबाट छ अर्ब आठ करोड ५२ लाख रुपियाँ परिचालन गरिनेछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा एक अर्ब ५० करोड रुपियाँ आन्तरिक ऋण उठाउने लक्ष्य पनि राखेको छ ।
बजेटमा सङघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान सात अर्ब ८४ करोड ८५ लाख रुपियाँ, सशर्त अनुदान आठ अर्ब १० करोड २८ लाख रुपियाँ, समपूरक अनुदान ९४ करोड ७४ लाख रुपियाँ तथा विशेष समपूरक अनुदान ७० करोड रुपियाँ गरी कुल १७ अर्ब ५९ करोड ८७ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको उल्लेख छ ।
अर्थमन्त्री भट्टराईले सीमित स्रोत र राजस्व वृद्धिको चुनौतीका बीच उत्पादन, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताए। बजेट कार्यान्वयनमार्फत प्रदेशको आर्थिक गतिविधि विस्तार र जनताको जीवनस्तर सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।