रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

Wednesday June 3, 2026

पढ्न लाग्ने समय :


धनगढी : सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधवार दिल्लीमा भेटवार्ता भएको छ।
भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। मोदीले थप लेखेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुरÞ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ।’
रास्वपा सभापति लामिछानेले आफूहरूबीच एक घण्टा लामो “रचनात्मक कुराकानी“ भएको सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
लामिछानेले थप लेखेका छन, ‘म भविष्यका लागि नेपाल र भारतले विगतका बाधाहरू पार गर्दै विकास कूटनीतिको नयाँ युगलाई अँगाल्ने तपाईँको दृष्टिकोण साझा गर्न चाहन्छु। साझा सभ्यता सम्बन्ध, डिजिटल करिडोर र निर्बाध कनेक्टिभिटीमा ध्यान केन्द्रित गर्दै हामी साँच्चै प्रगति र पारस्परिक विश्वासद्वारा परिभाषित साझेदारी निर्माण गर्न सक्छौँ।’
उनले नेपाल र भारतका जनताको साझा समृद्धिको लागि सम्भावनाहरूलाई वास्तविकतामा बदल्न रास्वपा तत्पर रहेको समेत उल्लेख गरेका छन्। वार्ताका क्रममा भारतका तर्फबाट विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिस्रीलगायत सहभागी देखिन्छन्।
त्यस क्रममा रास्वपा प्रतिनिधिमण्डलमा रहेका लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका सांसदहरू विपिन आचार्य, दीपक बोहोरा र दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापालगायत सहभागी देखिएका छन्।
लामिछाने सोमवार पाँचदिने भारत भ्रमणमा निस्किएका थिए। उनी भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) निमन्त्रणामा दिल्ली पुगेका हुन्।
नेपालमा जेन जी आन्दोलन भएपछि सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ बहुमत ल्याएर शक्तिशाली सरकार बनाएको छ। परिवर्तित राजनीतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने लामिछाने वरिष्ठतम नेता हुन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।