बाजुराका चार स्थानीय तहको रानीसैन घटनाका दोषीमाथि कारबाही गर्न माग

Wednesday May 20, 2026

पढ्न लाग्ने समय :


धनगढी : बाजुराको लाम्पाटामा भएको विवाद तथा आक्रमणविरुद्ध बाजुराका चार स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका छन् ।
बाजुराका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाकाले बुधबार संयुक्त विज्ञप्तिमार्फत घटनामा संलग्नमाथि कारबाहीको माग गरेका हुन् ।
विज्ञप्तिमा ‘विवादको निराकरण गरी थप दुर्घटनाबाट जोगाउन जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला समन्वय समितिको कार्यालय बाजुरा, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदूरपश्चिम प्रदेश, नेपाल सरकार गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ध्यानाकर्षण गराउँछौं’ भनिएको छ ।
विगतमा बाजुराको हिमाली गाउँपालिकाको वडा नं ३ मा पर्ने लाम्पाटा, च्याचउर रानीसैन साविक बिच्छ्या गाविसका बासिन्दाले उपभोग गर्दै आएको र नेपाल सरकारको नापी विभागले सन् २००१ मा फिल्ड भेरिफिकेसनसहित जारी गरिएको नेपालको नक्सा सिट नं २९८१००३ मा स्पष्टसँग साक्या लाग्ना, डाँडालेप्च्या र ठोसाभन्दा माथि हुम्ला र तल बाजुरा भन्ने छुट्याइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साक्या लाग्नाभन्दा तलका जेखुङ्खर्क, मायोङ्खर्क, रानीखर्क, धौली खर्क, च्याचौर र लाम्पाटा बाजुरामा पर्ने स्पष्ट कानुनी आधार हुँदाहुँदै हुम्लाको खार्पुनाथ क्षेत्रका बासिन्दाले आफ्नो हो भनी बाजुराका नागरिकमाथि गरिएको हमला निन्दनीय छ ।’
रानीसैन क्षेत्र र सीमावर्ती क्षेत्रका जनताको दावी निराधार र तथ्यहीन भएकाले सत्यतथ्य र प्रमाणका आधारमा यस विवादको निराकरण गरी थप दुर्घटनाबाट जोगाउन विज्ञप्तिमा भनिएको छ ।
हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल, स्वामीकार्तिक खापरका अध्यक्ष भरतबहादुर रोकाया, बुढीनन्दाका नगर प्रमुख जनककुमार बोहरा र जगन्नाथका अध्यक्ष कालीबहादुर शाहीले उक्त विज्ञप्ती जारी गरेका हुन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका-२, थाली लगायत उक्त क्षेत्रका स्थानीय बासिन्दा मंगलबार लाम्पाटा आएर एक्कासि आक्रमण गर्दा हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, मीन कुँवर, प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा घाइते भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । वडा सदस्य पेमाको घरमा खार्पुनाथबाट दर्जनौ संख्यामा युवाहरू आएर कुटपिट गर्नुका साथै घरमा तोडफोड गरिएको प्रजिअ निरौलाले बताए ।
त्यस क्रममा ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियानका क्रममा साइपाल हिमालको पूर्वी बेसक्याम्प रानीसैन जाने क्रममा रहेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललगायतको टोलीमाथि पनि खार्पुनाथका बासिन्दाले अवरोध गरेका छन् । अवरोधपछि हमालसहितको टोली रानीसैन नपुगी फर्किएको छ । लाम्पाटा बाजुराको अन्तिम गाउँ हो, त्यहाँदेखि रानीसैन पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ ।
बाजुराले प्रहरी चौकी स्थापना गर्न खोज्दा हुम्लाले सिमाना विवाद भनिए पनि भित्री रूपमा रानीसैन विच्छ्या क्षेत्रबाट हुम्लाका व्यवसायी र केही राजनीतिकर्मीले जडीबुटी र वन्यजन्तुको चोरी तस्करीमा अवरोध हुने भएपछि चौकी स्थापना हुन नदिने र पर्यटकहरूको आवागमन पनि हुन नदिने योजनाअनुसार उक्त घटना गराएको बाजुराका प्रदेश सांसद नरेशकुमार शाही बताउँछन् ।


भर्खर

विष्णु पौडेललाई गैरकानुनी थुनिएको भन्दै श्रीमती पुगिन् सर्वोच्च

काठमाडौं : आफ्नो पति विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै दोमाया पौडेल

रास्वपा महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय

भारतीय प्लास्टिक आयातमा कडाइ गर्न फूल व्यवसायीको माग

धनगढी :  कैलालीका फूल व्यवसायी तथा किसानहरूले भन्सार नाकामार्फत भारतबाट भित्रिने प्लास्टिकका फूलको आयातमा कडाइ