सुदूरपश्चिममा दुई विधेयक एक वर्षदेखि सचिवालयमा

Saturday May 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा दर्ता गरेका दुई विधेयक एक वर्षदेखि सचिवालयमै थन्किएका छन् ।

सभा सञ्चालन भए पनि पुरानो दर्ता भएका विधेयक अगाडि नबढाइँदा टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बडघर-भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सचिवालयमै थन्किएका छन् । यी दुई विधेयक सचिवालयमा दर्ता भएको एक वर्ष भइसकेको छ ।
प्रदेश सरकारले टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई, २०८१ चैत ३ गते प्रदेश सभा सचिवालयमा दर्ता गरेको थियो । त्यसै गरी बडघर÷भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सरकारले २०८२ जेठ २१ गते प्रदेश सभा सचिवालयमा दर्ता गरेको थियो । विगतमा धेरै पटक बिजनेस अभावको पीडा भोगेको प्रदेश सभाले यी दुई विधेयकलाई भने एक वर्षदेखि अगाडि बढाउन सकेको छैन ।
विधेयक अगाडि नबढाइएकोप्रति सत्तारूढ दल नेपाली कांग्रेसले असन्तुष्टि प्रकट गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको सो पार्टीकोे दलको बैठकले यी दुवै विधेयकलाई प्रदेश सभामा अविलम्ब अगाडि बढाउन सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गर्ने निर्णय गरेको छ ।
संसद् सचिवालयमा दर्ता भएको एक वर्ष बितिसक्दा पनि ती विधेयक सदनमा प्रस्तुत नहुँदा छलफल पनि हुन सकेको छैन । यस अवस्थाले संसद्को कार्यप्रणालीमाथि नै प्रश्न उठ्ने भन्दै संसदीय दलले ती विधेयक अविलम्ब सदनमा पेस गरी आवश्यक छलफल अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ ।
दलका प्रमुख सचेतक विक्रमसिंह धामीले दुवै विधेयक सभामा पेस भए छलफललगायतका कार्य अगाडि बढ्ने भएकाले चाँडै सभामा लैजान आग्रह गर्ने बताए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले भने दुवै विधेयक सदनमा पेस भई विचाराधीन अवस्थामा रहेको बताए।्


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।