धनगढीमा उत्कृष्ट नतिजा हासिल गर्ने २५ वटा विद्यालयलाई सम्मान

Monday April 13, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढी उपमहानगरपालिकाले कक्षा ८ को उपमहानगरस्तरीय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने २५ वटा सामुदायिक तथा संस्थागत विद्यालयलाई सम्मान गरेको छ। शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याउने विद्यालयहरूलाई विशेष कार्यक्रममार्फत सम्मान तथा पुरस्कृत गरिएको हो।

उपमहानगरपालिकामा आयोजित कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने १० सामुदायिक र १५ संस्थागत विद्यालय लाई सम्मान गरिएको थियो। सामुदायिकतर्फ वेहडाबाबा मावि, शारदा मावि, सिद्धार्थ मावि, सर्वोदय मावि, इन्द्रोदय मावि, पञ्चोदय मावि, शारदा मावि देवरिया, जनप्रिय मावि, ठेकराज मावि र चन्द्रोदय मावि रहेका छन्।

त्यस्तै संस्थागततर्फ सिद्धार्थ विद्या मन्दिर, मयूर ई.बो., गुरुकुल ई.बो., जेसिज एभरेस्ट, ग्लोबल मोडर्न पब्लिक स्कुल, पञ्चकोटी विद्या निकेतन, नन्दिनाज एकेडेमी, अपि विद्या निकेतन, गोल्डेन ज्योति, केदारनाथ विद्या निकेतन, सिद्धार्थ इन्टरनेशनल, दरबार ई.बो., ग्यालेक्सी मावि र डिलाइट ई.बो. स्कुल सम्मानित भएका छन्।

यसपटकको सम्मान कार्यक्रम परम्परागत शैलीभन्दा फरक ढंगले ब्यान्ड–बाजासहित सम्पन्न गरिएको थियो। यसले विद्यालय, शिक्षक तथा विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा थपेको सहभागीहरूले बताएका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै गोपाल हमाल ले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्न तथा समग्र शैक्षिक वातावरण सुधार गर्न सार्वजनिक सम्मानको परम्परा सुरु गरिएको बताए। उनले २०७९ सालमा सामुदायिक विद्यालयहरूको नतिजा अत्यन्त कमजोर देखिएपछि सुधारका विभिन्न कार्यक्रम सञ्चालन गरिएको र त्यसको सकारात्मक प्रभाव अहिले देखिन थालेको उल्लेख गरे।

उनका अनुसार सामुदायिक विद्यालयहरूको नतिजा २०७९ मा ९.४७ प्रतिशत मात्र रहेकोमा २०८० मा ३०.७९ प्रतिशत, २०८१ मा ४२.१६ प्रतिशत हुँदै हाल ५०.०६ प्रतिशतभन्दा माथि पुगेको छ। यो सुधारले शिक्षा क्षेत्रमा गरिएको लगानी, अनुगमन र योजनाबद्ध प्रयासको प्रतिफल देखाएको उनले बताए। २०८२ सालको परीक्षामा सामुदायिकतर्फ ४३ विद्यालयका २ हजार ५४३ विद्यार्थी सहभागी भएकोमा १ हजार २७३ जना उत्तीर्ण भएका छन्, जुन विगतको तुलनामा उल्लेखनीय सुधार मानिएको छ।कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले उपमहानगरपालिकाको यस पहलले आफूहरूलाई थप जिम्मेवार बनाएको र आगामी शैक्षिक सत्रमा अझ उत्कृष्ट नतिजा ल्याउन प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।

पछिल्लो समय धनगढी उपमहानगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयहरूको भौतिक पूर्वाधार विकास, शिक्षक क्षमता अभिवृद्धि तथा गुणस्तरीय शिक्षामा जोड दिँदै आएको छ। यस्ता कार्यक्रमहरूले आगामी दिनमा शैक्षिक क्षेत्रमा अझ सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।