‘भाउजू भाउजू’ भन्नेहरू कहाँ गए ?
पढ्न लाग्ने समय :
धनगढी : नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले पार्टीका नेता शेरबहादुर देउवा तथा आरजू राणा देउवामाथि आक्रमण हुँदा उनीहरू निकटका नेताहरूले त्यसविरुद्ध कुनै आवाज उठाउन नसकेको बताएका छन्।
आजको प्रदेश सभा बैठकमा उनले आफ्नै नेतृत्वमाथि कुटपिट हुँदा पनि निकटका व्यक्तिहरू मौन रहेको संकेत गरेका थिए। ‘मेरो पार्टीका नेता शेरबहादुर देउवा, उहाँको घरमा श्रीमतीसहित आक्रमण भयो, उहाँ घाइते हुनुभयो। उहाँका सम्बन्धमा पनि एक शब्द बोलेनन्,’उनले रोष्ट्रमबाटै सोधे, ‘भाउजू भनेर अगाडि–पछाडि लाग्नेहरू कहाँ गए ?’
नेताहरूले पनि त्यो बुझिदिएको भए त्यस्तो घटना नहुन सक्ने उनले बताएका थिए। एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउको पनि उनले विरोध जनाए। किरियामा भएको बेला पक्राउ गरेर मानवता मारेको टिप्पणी गरेका थिए।
सिंहदरबार, सर्वोच्च अदालत, संसददेखि सुदूरपश्चिम प्रदेशका संरचनाहरू जलाइएकोप्रति पनि उनले विरोध जनाएका थिए। घण्टी बजाएर चुनावमा गएका रास्वपा सांसदहरू अहिले शंख बजाएर सत्तामा पुगेको उनले बताएका थिए।