लम्की–चुहा नगरपालिकाको अस्पतालमा प्रदेश सरकारले समिति गठन गरेपछि विवाद
पढ्न लाग्ने समय :
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पतालमा प्रदेशबाटै विकास समिति गठन गरेपछि विवाद सिर्जना भएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल, जोगबुढा प्रादेशिक अस्पताल र लम्कीचुहा अस्पताल विकास समितिका पदाधिकारी र सदस्य नियुक्त गरेको थियो।
तर, मन्त्रालयले पदाधिकारी र सदस्य नियुक्त गरेको १५ शय्याको लम्कीचुहा अस्पताल भने प्रदेश सरकारलाई हस्तान्तरण नभएको पाइएको छ। नगरपालिकाबाट प्रदेशमा हस्तान्तरण नहुँदै विकास समिति गठन गरेपछि विवाद भएको छ। १५ शय्याको उक्त अस्पताल प्रदेशलाई हस्तान्तरण नभएका कारण अहिले नगर प्रमुख सुशीला शाहीको अध्यक्षतामा रहेको विकास बोर्ड पनि यथावत् छ।
‘लम्कीचुहा अस्पतालमा मेयर साबको अध्यक्षतामा छुट्टै विकास बोर्ड रहेको छ,’ बोर्डका सदस्य पहल शाहीले भने, ‘आइतवार मात्रै बोर्डको बैठक पनि बसेको थियो। अहिले आएर नगरबाट अस्पताल हस्तान्तरण नगर्दै प्रदेशले विकास समिति गठन गरेको जानकारीमा आएको छ। यो राम्रो कुरा होइन।’
लम्कीचुहा नगरपालिकाको सहमतिअनुसार प्रदेश सरकारले अस्पताललाई मातहत ल्याउन संघीय सरकारलाई सिफारिस गरेको थियो। सोही आधारमा केही महिनाअघि संघीय सरकारले लम्कीचुहा अस्पताललाई प्रदेश सरकार मातहत ल्याउने निर्णय गरिसकेको मन्त्रालयले जनाएको छ।
सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले संघीय सरकारले लम्कीचुहा अस्पताल प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय गरिसकेको बताए। कानुनी रूपमा अस्पताल प्रदेशलाई हस्तान्तरण भए पनि व्यावहारिक रूपमा नभएको कुरा साँचो भएको उनी बताउँछन्।
उनका अनुसार कर्मचारी समायोजन लगायतका काम अघि बढाउन लम्कीचुहा नगरपालिकालाई अनुरोध गरिए पनि अहिलेसम्म भएको छैन।
आइतवार सामाजिक विकास मन्त्री मेघराज खड्काले लम्कीचुहा अस्पतालको अध्यक्षमा रामबहादुर बिष्टलाई नियुक्त गर्ने निर्णय गरेका थिए। विष्ट पूर्वशिक्षक हुन्। यस्तै अस्पताल समितिको सदस्यमा ससिरा शाही, धीरेन्द्र थापा, भीम थारू र हिमाल स्वाँरलाई नियुक्त गरिएको छ।