बजारमा ग्यास अभाव

Saturday March 14, 2026

पढ्न लाग्ने समय :


भैरहवा:  बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन्।

स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल-पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ। ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको उनीहरूको भनाइ छ। ग्यास विक्रेताको ग्यास सिलिण्डरको लामो लाइन लागेको छ।

लामो समयसम्म पालो कुर्दा पनि खाना पकाउने एलपी ग्यास पाउन नसकेको स्थानीय प्रदीप ज्ञवालीले बताए। नियमित भान्छा चलाउन पनि ग्यास नपाउने अवस्था आउँदा दैनिक जीवन कष्टकर हुँदै गएको उनको भनाइ छ।

ग्यास विक्रेताले पनि कम्पनीबाट पर्याप्त ग्यास उपलब्ध नगराउँदा अभाव देखिएको बताएका छन्। मागअनुसारको आपूर्ति नहुँदा उपभोक्तालाई उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ।

यद्यपि भैरहवा भन्सार कार्यालयका अनुसार भने ग्यास आयात नियमित रूपमा भइरहेको छ। भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको छ। दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी रहेको जनाइएको छ।

स्थानीय ग्यास विक्रेताका अनुसार पछिल्लो समय उपभोक्ताले सम्भावित अभावको आशङ्कामा आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो। पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले केही घण्टामै सकिने गरेको बताइएको छ।

सीमावर्ती क्षेत्रमा भने नेपालबाट भारततर्फ ग्यास सिलिण्डर लैजाने प्रयाससमेत बढेको पाइएको छ। भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभाव देखिएकाले सीमावर्ती क्षेत्रका नेपालबाट ग्यासका सिलिण्डर भारततर्फ तस्करी भइरहेको सीमा क्षेत्रका बासिन्दाले बताउने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सीमाबाट ग्यासको अवैध ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी कडा पारिएको जानकारी दिए। उनका अनुसार सीमावर्ती क्षेत्रमा जाँचलाई कडाइ गरिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।