सुदूरपश्चिममा सेनासहित ३० हजार बढी सुरक्षाकर्मी परिचालन

Tuesday March 3, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुदूरपश्चिमका केही जिल्लामा विगतका निर्वाचनमा बुथ कब्जा, फर्जी मत र झडपका घटना हुँदै आएका थिए। विशेषगरी बाजुरामा २०४८ सालयता हरेक निर्वाचनमा विवाद हुने गरेको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनका क्रममा बाजुरामा दुई युवाको मृत्यु भएको थियो। बाजुरासँगै बझाङका केही मतदान केन्द्रमा अत्यधिक मतदान प्रतिशत देखिने गरेको विगतको तथ्यांकले देखाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी ओमबहादुर रानाले एकीकृत सुरक्षा योजनाअनुसार प्रदेशभर कडा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए। उनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला–जिल्लामा थप प्रहरी परिचालन गरिएको छ।

‘सात हजारभन्दा बढी नेपाल प्रहरी, १३ हजार पाँच सय निर्वाचन प्रहरी तथा सशस्त्र र नेपाली सेना सहित ३० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिरहेका छौँ,’ डिआइजी रानाले बताए। मौन अवधि सुरु भएसँगै थप सतर्कता अपनाइएको उनले उल्लेख गरे।

प्रदेशभर एसएसपीसम्मका अधिकृत फिल्डमा खटिएका छन् भने १७७ मोबाइल टोली र २० रिजर्भ टोली तयारी अवस्थामा राखिएको छ। अतिसंवेदनशील मतदान केन्द्रमा सिसी क्यामेरा जडान गरिएको छ भने आवश्यक परे हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।

१७ लाखभन्दा बढी मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा १६ निर्वाचन क्षेत्र, १ हजार १७६ मतदानस्थल र २ हजार १९९ मतदान केन्द्र रहेका छन्। तीमध्ये ४८१ मतदानस्थल र ९८५ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेका छन्। साथै ३०० मतदानस्थल सामान्य र ३९५ संवेदनशील रहेका छन् भने मतदान केन्द्रतर्फ ४५६ सामान्य र ७५७ संवेदनशील वर्गीकरण गरिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।