गुहमन्त्री अर्यालले भने, ‘ बुथ कब्जा गर्नेजस्ता गतिविधि यसपटक दोहोरिन दिँदैनौँ’

Sunday March 1, 2026

पढ्न लाग्ने समय :


बझाङ : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनविरोधी गतिविधि सह्य नहुने र दोषीलाई कानुनको दायरामा ल्याउने बताएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन बझाङ पुगेका गृहमन्त्री अर्यालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखसँग छलफल तथा स्थलगत जानकारी लिएका छन्।

त्यसलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले बझाङमा विगतका निर्वाचनमा देखिएका कमी–कमजोरी यसपटक दोहोरिन नदिने स्पष्ट पारेका छन्। उनले भने, ‘विगतका निर्वाचनमा भएका गल्ती–कमजोरी यसपटक दोहोरिन दिनु हुँदैन। जे–जति जनशक्ति र स्रोत-साधन उपलब्ध छन्, त्यसको अधिकतम उपयोग गरेर निष्पक्ष, पारदर्शी र विश्वसनीय तरिकाले निर्वाचन सम्पन्न गर्छौँ।

प्रशासनिक संयन्त्र सक्षम, सजग र निष्पक्ष रहेको उल्लेख गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको उनले बताए। विगतमा देखिएका धाँधलीजन्य गतिविधिप्रति सङ्केत गर्दै गृहमन्त्री अर्यालले यस्ता कार्य कदापि सह्य नहुने बताएका छन्। ‘भौगोलिक विकटता वा अन्य कुनै बहानामा अर्काको नाममा मतदान गर्ने, मृत व्यक्तिको नाममा भोट हाल्ने तथा बुथ कब्जा गर्नेजस्ता गतिविधि यसपटक दोहोरिन दिँदैनौँ,’ उनले भने।

निर्वाचनविरोधी गतिविधिमा संलग्न जोकोहीलाई कानुनी कारबाही गरिने उनले बताए। सबै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सरोकारवालालाई स्वच्छ, स्वस्थ र प्रतिस्पर्धात्मक वातावरण कायम राख्न सहयोग गर्न उनले आग्रह समेत गरेका छन्। निर्वाचनमा गलत हर्कत गर्ने जोकोहीलाई पनि कानुनअनुसार कारबाही हुनेमा उनले बताए।

गृहमन्त्रीको भ्रमणलाई निर्वाचन सुरक्षाको सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ। सुरक्षा निकायले जिल्लाका संवेदनशील क्षेत्र पहिचान गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जनाएको छ। निर्वाचन नजिकिँदै गर्दा सरकार शान्तिपूर्ण र विश्वसनीय मतदान सुनिश्चित गर्न केन्द्रित रहेको गृहमन्त्री अर्यालको भनाइ छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।