दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा
पढ्न लाग्ने समय :
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा यथावत् रहेका छन्।
आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोमै रहेका हुन्।
आईसीसी टी–२० विश्वकपमा गरेको प्रदर्शनपछि गत साता दीपेन्द्रको वरियता सुधार भएर छैटौंबाट चौथोमा उक्लिएका थिए । दीपेन्द्रले टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक (१६९) रन बनाए । बलिङमा २ विकेट लिए ।
दीपेन्द्रको रेटिङ अंक बढेर हालसम्मकै उच्च (२४४) पुगेको थियो । उक्त अंक यस साता पनि कायम छ ।
पछिल्लो सातादेखि नेपालले कुनै खेल खेलेको छैन । अन्यको वरियता परिवर्तन हुँदा पनि उनको वरियतामा भने फेरबदल भएन ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा उक्लिएका छन् । उनको २९४ रेटिङ अंक छ । पाकिस्तानका सायम अयुब दोस्रोमा झरेका छन् । उनको २८१ रेटिङ अंक छ ।
तेस्रोमा भारतका हार्दिक पान्ड्या यथावत् छन् । उनको २७२ अंक छ । पाँचौंमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ छन् ।