दार्चुलाका सात मतदान केन्द्रका मतपेटिका हेलिमार्फत ढुवानी गरिने
पढ्न लाग्ने समय :
दार्चुलाः दार्चुलाका सात वटा मतदान केन्द्रका मतपेटिकाहरू हेलिकोप्टर मार्फत ढुवानी गरिने भएको छ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भए पश्चात् जिल्लाको व्यास गाउँपालिकामा रहेका मतदान केन्द्रहरू शिरसिन्धार आधारभूत विद्यालय बोधगाउँ, सर्वहित आधारभूत विद्यालय दुम्लिङ तथा रानीस्थान आधारभूत विद्यालय मालको मतपेटिका र अपि हिमाल गाउँपालिकाको हिमालय आधारभूत विद्यालय पाथा, भवानी आधारभूत विद्यालय सिती, खण्डेश्वरी माध्यमिक विद्यालय र महिला सामुदायिक भवन सितोलाको मतपेटिका हेलिकोप्टर मार्फत ढुवानी गर्ने निर्णय भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी विनोद दाहालले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा मतपत्र ढुवानी, आचारसंहिता पालना सम्बन्धी राजनीतिक दलहरूसँग आज भएको बैठकमा उक्त निर्णय गरिएको उले बताए।
यहाँका सात वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टर मार्फत ढुवानीका लागि गृह मन्त्रालयमा लेखी पठाइएको तथा सानो हेलिकोप्टर प्राप्त हुने जानकारी प्राप्त भएको भन्दै उनले मतपेटीका र मतदान अधिकृतलाई हेलिकोप्टर मार्फत ल्याउने विषयमा बैठकमा पार्टीको प्रतिनिधिहरूले समेत सहमति जनाएको उनको भनाइ छ।
कारणबस हेलिकोप्टर मार्फत ढिला हुने अवस्था भएमा तथा मौसम अनुकूल नभएमा प्रशासन सुरक्षा निकायले अवस्था हेरी पैदल, सडक मार्ग प्रयोग गरी मतपेटिका ढुवानीको व्यवस्था मिलाउने कुरामा दलका प्रतिनिधिसँग सहमति भएको उनले बताए।