सेती अस्पतालमा निःशुल्क जलन उपचार शिविर सञ्चालन

Tuesday February 24, 2026

पढ्न लाग्ने समय :


धनगढीः सेती प्रादेशिक अस्पतालमा ‘निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गरिएको छ। नबिल बैँक, सुस्मा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो।

फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने शिविरबाट जलनका घटनाबाट पीडित व्यक्तिहरू लाभान्वित हुने अस्पतालले जनाएको छ। अस्पताल व्यवस्थापक वेदप्रकाश जोशीका अनुसार जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा आवश्यक शल्यक्रियासहितका सेवा प्रदान गरिनेछ।

उनका अनुसार आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने अवस्था भएका, कपाल गुमाएका, हातका औँला टाँसिएका, हातखुट्टामा पाँच वटाभन्दा बढी औँला टाँसिएका, विस्फोटमा परी शल्यक्रिया आवश्यक परेका तथा खुट्टाको पैतला भित्रतिर फर्किएको समस्या भएका बिरामीले निःशुल्क उपचार पाउनेछन्। जटिल समस्या भएका बिरामीलाई काठमाडौँको साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था गरिने उनले बताए।

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर धनगढीबाट सुरु गरिएको हो। बैंकले यस्ता शिविर अन्य प्रदेशमा पनि सञ्चालन गरिने जनाएको छ। पहिलो चरणमा धनगढीमा सुस्मा कोइराला मेमोरियल अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गरिएको बैंकको भनाइ छ। शिविरबाट १२० भन्दा बढी लाभग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ।

शिविर सञ्चालनका लागि बैँकले फेक्ट नेपाल ९कीर्तिपुर अस्पतालअन्तर्गत० तथा सुस्मा कोइराला मेमोरियल अस्पतालसँग सहकार्य गरिरहेको जनाएको छ।

सरकारी तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब ५६ हजार जलनसम्बन्धी घटना हुने गरेका छन्, जसमा औसतमा करिब २ हजार १ सय जनाको मृत्यु हुने गरेको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।