अछाम-२ मा उज्यालो नेपालका उम्मेदवारको समर्थन रास्वपाका शाहलाई
पढ्न लाग्ने समय :
धनगढी : अछाम–२ का रास्वपा उम्मेदवार भूपदेव शाहलाई उज्यालो नेपाल पार्टीका उम्मेदवारले समर्थन गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपालबाट राजेश रावल उम्मेदवार थिए। रास्वपाका शाह र रावलबीच आइतबार विभिन्न विषयमा सहमति भएको हो। ‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन, अछाम निर्वाचन क्षेत्र नम्बर २ का सन्दर्भमा लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, पारदर्शिता र अवस्था परिवर्तनको राजनीतिलाई मजबुत बनाउनका लागि राजेश रावल (उज्यालो नेपाल पार्टीका उम्मेदवार) र भूपदेव शाह (राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार) बीच देहायबमोजिम सहमति भएको घोषणा गर्दछौं,’ सहमतिपत्रमा लेखिएको छ, ’उज्यालो नेपालका उम्मेदवार राजेश रावलले परिवर्तन, सुशासन र जनउत्तरदायी राजनीतिका पक्षमा आफ्नो उम्मेदवारी फिर्ता लिई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भूपदेव शाहलाई पूर्ण समर्थन गर्ने।’
रास्वपाका शाहले उज्यालो नेपालका रावलले उठाएका अछामको पूर्वाधार विकास, रोजगारी, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अबलम्बन गर्ने, कृषि तथा स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्ने, विकट क्षेत्रका जनताको सेवामा राज्यको प्रभावकारी पहुँच पु¥याउन जोडदार पहल गर्ने लगायतका एजेन्डालाई स्वीकार गर्ने भनिएको छ।
उज्यालो नेपालले पनि रास्वपाका उम्मेदवार शाहका पक्षमा अभियान सञ्चालन गर्ने पनि सहमतिपत्रमा उल्लेख छ। सहमतिपत्रमा शाह र रावलको हस्ताक्षर रहेको छ ।
उज्यालो नेपालका रावलले उम्मेदवारी फिर्ता लिए पनि अछाम २ को मतपत्रमा उज्यालो नेपालको चुनाव चिह्न भने रहनेछ।