कैलाली-५ : माओवादीका उम्मेदवार सिंहको प्रतिबद्धता पत्र सार्वजनिक
पढ्न लाग्ने समय :
धनगढीः प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बबरजङ्ग बहादुर सिंहले २२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
कैलाली–५ मा उम्मेदवार रहेका सिंहले भ्रष्टाचार, कमिसनखोर, तस्करी र राष्ट्रघातविरुद्ध शून्य सहनशीलताको नीति अपनाई स्थिर र जनमुखी सरकार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई छ सय शैयामा विस्तार गरी एमडी तथा एमबीबीएस अध्ययन शीघ्र सञ्चालन गरिने उल्लेख गरिएको छ। त्यस्तै धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर प्रदेशीय विमानस्थलका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। सेती प्रादेशिक अस्पतालको स्तर उन्नति गरी गुणस्तरीय सेवा सुनिश्चित गरिने उनले बताए।
फाप्ला क्रिकेट रंगशालालाई पाँच वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाइ क्रिकेटलाई व्यावसायिक रूपमा जोड्ने प्रतिबद्धता गरिएको छ। पर्यटन विकासका लागि जाखोर ताल, शिवपुरी धाम र बेहडाबाबा क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको सिंहले बताए।
आधुनिक तथा प्राविधिक शिक्षाको विस्तार गरी युवालाई सीपयुक्त बनाइने, योजनाबद्ध सहरीकरणमार्फत सुरक्षित र सफा बस्ती विकास गरिने उल्लेख छ। सुकुम्वासी र भूमिहीन समस्या स्थायी समाधान गर्न वैज्ञानिक भूमि व्यवस्थापन अपनाइनेछ।
कृषि क्षेत्रमा सिँचाइ, बीउ, मल र बजार सुनिश्चित गर्दै किसानको आम्दानी बढाइने, लागुऔषध दुरुपयोग तथा दुर्व्यसन नियन्त्रणका लागि कडा कार्यक्रम सञ्चालन गरिनेछ। युवालाई उद्यमशीलता, स्टार्टअप र सीपमूलक तालिममार्फत रोजगारी सिर्जना गरिने योजना सिंहका छन।
महिला सशक्तीकरण, आत्मनिर्भरता र सुरक्षाका कार्यक्रम, पूर्वाधारतर्फ सडक, पुल, खानेपानी र विद्युतको तीव्र विकास, डिजिटल सेवा विस्तार गरी सरकारी सेवा घरदैलोमै उपलब्ध गराउने प्रतिबद्धता गरिएको बबरजंगले गरेका छन।
शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा पहुँचविहीन समुदायलाई निःशुल्क सेवा, प्राकृतिक विपद् व्यवस्थापन र जलवायु परिवर्तन न्यूनीकरण, स्थानीय उद्योग, पर्यटन र साना व्यवसाय प्रवर्धन गर्ने उल्लेख छ।
सहकारी, लघुवित्त र मिटर ब्याज पीडितको समस्या समाधान गर्दै दोषीलाई कानुन बमोजिम कारबाही, जनताको प्रत्यक्ष सहभागितामा विकास योजना कार्यान्वयन, ज्येष्ठ नागरिकका लागि सुरक्षित र हरियालीयुक्त पार्क निर्माण गरिनेछ। धनगढी आयात–निर्यात डिपोलाई सीमा बजारसँग नजिक पर्ने उपयुक्त स्थानमा स्थानान्तरण गरिने प्रतिबद्धता पत्रमा समेटिएको छ।