रौतहटमा रास्वपा उम्मेदवारको प्रचारमा हिँडेको गाडीको ठक्करबाट बालिकाको मृत्यु
पढ्न लाग्ने समय :
रौतहट : रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारमा हिँडेको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएको छ।
बिहीबार दिउँसो रौतहटको ईशनाथ नगरपालिका–४ स्थित मठियाटोलमा बा १५ च ४२४४ नम्बरको कारले मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिएको हो।
रास्वपा उम्मेदवार सगिर मठिया गाउँमा घरदैलो गरिरहेका बेला कारले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करपछि गम्भीर घाइते बालिकालाई उपचारका लागि कारचालकले सिटी अस्पताल गौरमा ल्याएका थिए।
घाइते बालिकालाई अस्पताल छाडेर चालक फरार भएका थिए। त्यसपछि बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। गौरमा चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
फरार चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णुप्रसाद बस्यालले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।