संविधान ‘घाँडो’ भयो, संशोधन गर्नैपर्छः प्यारे लाल

Wednesday January 28, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार प्यारेलाल रानाले संविधानको रक्षाका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्। धनगढीमा पत्रकार सम्मेलन गर्दै रानाले आफ्नो उम्मेदवारीको औचित्य बारे स्पष्ट पारेका हुन्।

नेपाली काँग्रेसबाट २०६४ मा संविधान सभा सदस्य बनेका रानाले गत बैशाखकै पार्टीबाट राजीनामा दिएको बताउँदै संविधानमा कुठाराघात भएकाले संविधानको रक्षाका निम्ति आवाज उठाउन उम्मेदवारी दिएको बताएका छन्। ’नेपालको संविधान बचाउनु पर्छ भन्ने मलाई लागेको छ, भदौ २३ र २४ गतेको आन्दोलनले संविधान झन्डै बर्खास्त भएको थियो,’ उनले भने, ’संविधान बचाउन जरुरी छ, जुनसुकै त्याग गरेर भए पनि संविधान जोगाउन मेरो प्रयास रहनेछ।

नेपालको न्यायालयले स्वतन्त्र ढङ्गले काम नगरेको जिकिर गर्दै रानाले न्यायालयलाई स्वतन्त्र राख्नुपर्ने बताएका छन्। उनले विधिको शासन, स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रका पक्षमा सदनमा आवाजे उठाउने बताएका छन्। ’पार्टीहरूको शासनमा विधिको शासन रहेन, मूल्य मान्यताअनुसार कानुन बनेनन्, पार्टीहरूले आफ्नो फाइदाका लागि मात्रै नीति र कानुन बनाउने काम गरे,’ उनले भने, ’जनताको लागि कानुन बनाएनन्। जनताका लागि भन्दा पार्टीका लागि अध्यादेश या कानुन ल्याउन लाग्दा मैलै आवाज उठाउने छु।’

रानाले आफू पुरानो राजनीतिज्ञ भएको दाबी गर्दै चुनावमा कैलाली–५ मा मतदाताले जिताउने बताएका छन्। उनले चुनावमा भिड्ने मनसायले नै उम्मेदवारी दिएकाले काँग्रेस उम्मेदवार नरनारायण शाहले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दासमेत फिर्ता नलिएको बताएका छन्। ’मैले चुनाव लड्ने भनेरै उम्मेदवारी दिएको हुँ। मनु जीले उम्मेदवारी फिर्ता लिन भन्दै मान्छे पठाएका थिए, मैले मानिन,’ उनले भने, ’चुनावमा मेरो जित हुन्छ। लड्ने भनेर दिएको उम्मेदवारी फिर्ता लिने कुरै भएन।’

आफूले २१ वर्षकै उमेरमा प्रधानपञ्चको चुनाव लडेको स्मरण गर्दै रानाले आफू सय वर्षसम्म काम गर्न सक्ने दाबी गरेका छन्। उनले संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्ने आवाज बुलन्द पार्न आफूले सांसद हुन चाहेको रानाले बताएका छन्।

’यो संविधान घाडो बनेको छ, यसमा आवश्यक संशोधन गरेर अगाडि बढ्नुपर्छ, संशोधन गरिएन भने गत भदौकै जस्तो घटना दोहरिन सक्छन्,’ रानाले भने, ’संविधानमा सुधार आवश्यक छ, त्यो गर्नुपर्छ।’ रानाले समानुपातिक सिट प्रतिनिधि सभामा राख्न नहुने बताएका छन्। प्रचण्डले काँग्रेसका सुशील कोइराला, शेरबहादुर र एमालेका केपिलाई घुमाएर यो अवस्थामा ल्याएको दाबी रानाले गरेका छन्। ’संविधान यस्तो हुनुमा नेताहरू दोषी छन्। संविधान अहिले घाँडो भएको छ। यसमा समय सान्दर्भिक संशोधन गरिनुपर्छ,’ रानाले भने।

रानाले इमानदारी पूर्वक काम गरेको बताउँदै चुनावमा आफूले बहुमत प्राप्त गर्ने दाबी गरेका छन्। पत्रकार सम्मेलनमा रानाले स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा दूरगामी प्रभाव पार्ने नीति ल्याउन तथा योजना र कार्यक्रम ल्याउन सरकारलाई खबरदारी गर्न आफूले जित्नुपर्ने बताएका छन्। उनले आफ्नो इमानदारीलाई नै चुनाव जित्ने आधार बताएका छन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।