दार्चुलाको शैल्यशिखरमा खरिद नगरेका बाख्रा देखाएर २३ लाख भ्रष्टाचार

Sunday January 18, 2026

पढ्न लाग्ने समय :


धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकामा बाख्रा पालनको नाममा आएको सरकारी अनुदानमा भ्रष्टाचार भएको पाइएको छ। बाख्रा खरिद नै नगरी नक्कली बिल बनाएर २३ लाख ७५ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिका र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७८/७९ मा शैल्यशिखर नगरपालिका–९ स्थित नागार्जुन दानेश्वर आधुनिक बाख्रा पालन उपभोक्ता समितिले प्रदेश सरकारको विशेष अनुदान अन्तर्गत बाख्रा फार्म निर्माण तथा बाख्रा खरिद योजना सञ्चालन गरेको थियो।

उक्त योजनामा भक्तपुरको चाँगुनारायणस्थित एक फार्मबाट १५ वटा बोका र १५ वटा बोयर बाख्रा खरिद गरेको भन्दै नक्कली बिल पेस गरी रकम भुक्तानी लिइएको अख्तियारको अनुसन्धानमा खुलेको छ। भक्तपुरको उक्त फार्मले आफूहरूले कुनै पनि बोका–बाख्रा बिक्री नगरेको बयान दिएपछि पोल खुलेको हो। भक्तपुरदेखि दार्चुलासम्म बाख्रा ढुवानी गरेको कुनै प्रमाण नै नभएको र उपभोक्ता समितिमा समेत एउटै परिवारका सदस्यहरू मात्र राखेर योजनाको सम्झौता गरिएको पाइएको छ।

बाख्रा वितरण गर्दा पनि वास्तविक किसानलाई नदिई समितिका पदाधिकारीले नै २–२ वटाका दरले बुझेको नक्कली भरपाई बनाएका थिए। १५ वटा बाख्राका लागि प्रजननका लागि १–२ वटा बोका भए पुग्नेमा १५ वटै बोका खरिद गरेको देखाएर सरकारी रकम लुट्ने नियत प्रस्ट देखिएको अख्तियारले जनाएको छ ।

यति मात्र होइन, बाख्राको खोर निर्माणमा समेत फिल्डमा भएको कामभन्दा करिब २५ घनमिटर बढी काम भएको देखाएर नापी किताबमा नक्कली विवरण चढाइएको छ । बनेका खोरहरू पनि अत्यन्त जीर्ण र गुणस्तरहीन पाइएको छ । अनुगमन समितिको प्रतिवेदनमा कसले अनुगमन गरेको हो भन्ने नाम र हस्ताक्षरसमेत छैन । यसरी मिलेमतोमा नक्कली कागजात बनाएर २३ लाख ७५ हजार रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले संलग्नहरूलाई कारबाहीको माग गर्दै आइतवार मुद्दा दर्ता गरेको हो।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका