धनगढीमा चैतन्य विद्यार्थी महोत्सव सुरु
पढ्न लाग्ने समय :
धनगढी : कैलालीको धनगढीमा चैतन्य विद्यार्थी महोत्सव आजदेखि सुरु भएको छ। धनगढीमा रहेको चैतन्य पाठशालाले दोस्रो महोत्सवको आयोजना गरेको हो।
विद्यार्थी महोत्सवको सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले उद्घाटन गरे। उनलेले मुलुकको विकासमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए।
चैतन्य पाठशालाले संस्कारसहितको शिक्षा दिनु अति उत्तम रहेको चर्चा गर्दै प्रदेश प्रमुख मियाँले विद्यार्थीलाई प्राविधिक शिक्षा दिन पनि आग्रह गरेका छन्। प्रदेश सभा सदस्य धर्मराज पाठकले विद्यार्थीलाई तथ्य कुरा बुझाउने कार्यमा सबै विद्यालयले जोड दिए। उनले पूर्वीय संस्कृतिलाई विज्ञानसँग जोडेर अगाडि बढाएमा विकास चाँडै हुने उल्लेख गरेका छन।
विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा उजागरको साथै सृजनशीलता, नेतृत्व क्षमता, सामाजिक चेतना, अन्वेषणशील सोच र आत्मविश्वासको विकास गर्ने उद्देश्यले धनगढीको चैतन्य पाठशालाले दोस्रो पटक चैतन्य विद्यार्थी महोत्सव आयोजना गरेको हो।
महोत्सवले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभाको पहिचान, विकास र प्रोत्साहन, बौद्धिक, सृजनात्मक, सांस्कृतिक तथा व्यावहारिक सीपको विकास गर्ने लक्ष्य रहेको पाठशालाका कार्यकारी प्रमुख गणेशप्रसाद जोशीले बताए। महोत्सवले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र सार्वजनिक अभिव्यक्ति सुद्धिकरणमा सहयोग गर्ने बताइएको छ। विद्यार्थी महोत्सव पुस २९ गतेसम्म चल्ने जनाइएको छ।