भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि
पढ्न लाग्ने समय :
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई उनको निवासबाट बिहान कांग्रेस मुख्यालय र त्यहाँबाट दिल्लीको निगमबोध घाटमा ल्याइयो थियो। अन्त्येष्टिमा राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, केन्द्रीय मन्त्री जेपी नड्डा र उपराष्ट्रपति जगदीप धनखर, रक्षामन्त्री राजनाथ सिंह र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, लोकसभामा विपक्षी नेता राहुल गान्धी, कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीलगायत उपस्थित थिए। सोनिया गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी लगायत धेरै प्रतिष्ठित नेताहरू पनि त्यहाँ उपस्थित थिए । निगमबोध घाटमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक पनि उपस्थित थिए । उनले डा मनमोहन सिंहलाई श्रद्धाञ्जली अर्पण गरे। ९२ वर्षीय सिंहको बिहीबार दिल्लीको एम्स अस्पतालमा निधन भएको हो । भारत सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।
प्रधानमन्त्री मोदी सिंहलाई भारतका ‘विशिष्ट नेता’ मध्ये एक व्यक्ति भएको उल्लेख गरेका छन् । विपक्षी काङ्ग्रेसका नेता राहुल गान्धीले आफूले एक गुरु र मार्गदर्शक गुमाएको बताउँदै सिंहले अपार बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गरेको बताएका छन् । कर्मचारीबाट राजनीतिमा आएका पूर्व प्रधानमन्त्री सिंहको पहिलो कार्यकालमा आर्थिक उछालका लागि उनलाई उच्च सम्मान गर्ने गरिएको छ । सिंहको दोस्रो कार्यकालमा भने केही भ्रष्टाचारका ठूला काण्ड, सुस्त आर्थिक वृद्धि र उच्च मुद्रास्फीतिको शृङ्खलापछि सन् २०१४ मा काङ्ग्रेसबाट प्रतिस्पर्धी भारतीय जनता पार्टीले सत्ता लिन सफल भएको थियो ।