दूतावासले भन्यो- अध्ययन अवधिभरको खर्च बन्दोबस्त गरेर मात्रै छोराछोरीलाई क्यानडा पठाउनू

Thursday May 2, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । क्यानडाको ओटावास्थित नेपाली राजदूतावास अध्ययनका लागि क्यानडा आउने नेपाली विद्यार्थीहरूका लागि सचेतना गराएको छ । दूतावासले एक सूचना जारी गर्दै अध्ययनका लागि क्यानडा आउने नेपाली विद्यार्थीहरूका लागि सचेतना गराएको हो ।

स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन (Research) गरी जानकारी लिएर मात्र क्यानडा आउन क्यानडास्थित नेपाली दूतावासले नेपाली विद्यार्थीलाई आग्रह गरेको छ । त्यस्तै आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध गरेर मात्र क्यानडा आउन दूतावासले सचेत गराएको हो ।

कलेज/विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकीन गरेर मात्र शैक्षिक शुल्क तिर्न र डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाँडा रकम भुक्तानी गर्नुपर्ने दूतावासको सुुझाव छ । सामाजिक संजालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिने भन्दै दूतावासले सचेत गराएको हो ।

यस्तो छ क्यानडास्थित नेपाली राजदूतावासको सूचना

अध्ययनका लागि क्यानडा आउने नेपाली विद्यार्थीहरूको सचेतनाका लागि प्रस्तुत गरिएको जानकारी

क्यानडाका विभिन्न शैक्षिक संघ-संस्थाहरूमा अध्ययनका लागि आउनुहुने/आइपुग्नु भएका नेपाली विद्यार्थीहरू र सम्बन्धित सबैको सचेतनाका लागि यो जानकारी प्रकाशित गरिएको छ।

१. विद्यार्थीहरूले क्यानडा आउनु अघि आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य वीमा आदिका वारेमा पूर्ण अध्ययन (Research) गरी जानकारी लिएर आवश्यक तयारी र सो को प्रबन्ध गरी आउनुपर्दछ। कलेज/विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकीन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्छ। डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाँडा रकम भुक्तानी गर्नुपर्दछ। सामाजिक संजालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ ।

२. क्यानडामा अध्ययन गर्ने सोच भएमा धेरै सूचनाहरू सम्बन्धित वेवसाइटमा उपलब्ध हुन्छन्। पर्याप्त समय दिएर आफूले पढ्न चाहेको विधा, विषय, लिन चाहेको योग्यता, डिग्री, त्यसका लागि सबैभन्दा उपयुक्त कलेज/विश्वविद्यालय, ती कलेज/विश्वविद्यालयमा पाइने छात्रवृत्तिका अवसर र संभावना, लाग्ने शैक्षिक शुल्क, बस्नखान लाग्ने खर्च, हावापानी, आदिबारे विद्यार्थी स्वयं वा अभिभावकहरूले यथेष्ट खोजी गरी सुसूचित हुनुपर्दछ। केही विषयमा प्रष्ट हुन चाहेमा आफूले चिनेका, सम्पर्कमा रहेका क्यानडामा रहनुहुने इष्टमित्र, साथीभाई, क्यानडामा अध्ययनरत विद्यार्थीहरू, गैर आवासीय नेपाली संघ वा नेपाली समुदायका संघसंस्थाहरू, तिनका पदाधिकारीहरूसँग सम्पर्क गरी थप जानकारी लिन उचित हुन्छ ।

३. अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र वस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ। पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के- कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ। क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राखे र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ।

४. शैक्षिक परामर्शदाता संस्थाहरू (Educational Consultancies) ले विद्यार्थीहरूको रुची अनुसारको रोजेको विषय पढ्न पाउने गरी गुणस्तरीय कलेज/विश्वविद्यालयको छनौट, पढाईमा दिनुपर्ने समय, कलेज र विश्वविद्यालयको लोकेसन, जीवनयापन खर्च, कामको अवसर, संभावना र चुनौति, कार्यघण्टा,थप अध्ययनका अवसर र संभावना एवं आवासीय अनुमति आदिबारे कानून सम्मत, तथ्यपूर्ण र यथार्थपरक सूचना र जानकारी विद्यार्थीहरू र तिनका अभिभावकहरूलाई दिनुपर्दछ। अपर्याप्त, अवास्तविक र यथार्थ भन्दा वाहिर बढाइ चढाइ गरी गरिएको प्रचार, प्रसार र सूचना प्रवाहबाट विद्यार्थीलाई पर्न सक्ने समस्याबारे हेक्का राखुपर्दछ ।

५. क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका समस्या र देशको शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिँदै यसै वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सम्बन्धी नयाँ नीति लिएको छ। जसमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति रहेको छ। त्यसबाहेक निजी-सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सो भन्दा मुनीका तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृति/वर्क परमिट (PGWP) जारी नगर्ने नीति लिएको छ। अतः क्यानडामा अध्ययनका लागि आउन लाग्नु भएका विद्यार्थीरूले यी नीतिहरूलाई विशेष ध्यान दिन उचित हुनेछ ।

६. कार्यस्थलमा श्रम शोषण/दुर्व्यवहार/ठगीमा परेमा विद्यार्थीहरूले कार्यस्थलमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी कानूनी उपचार खोज्नुपर्दछ। विद्यार्थीहरूले आफ्नो कलेज वा काममा जाँदा/आउँदा, पैदल हिंड्दा वा सवारी चलाउँदा यहाँको ट्राफिक नियम राम्रोसंग पालना गर्नुपर्दछ । यहाँका सडकहरूमा अत्यन्त तीव्र गतिमा गाडीहरू चल्ने हुनाले नियम विपरित बाटो काट्दा दुर्घट्नाको जोखिम रहन्छ। ट्राफिक संकेतको पूर्ण पालना गरेर मात्र सवारी साधन चलाउने वा बाटो काट्नुपर्दछ।

७. अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो कलेज/युनिभर्सिटीको अन्तर्राष्ट्रिय विद्यार्थी काउन्सिल, मेन्टल हेल्थ/करिअर काउन्सिल आदिमा सम्पर्क गरी विभिन्न सूचना तथा अवसरहरूबारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।