शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना

Monday January 29, 2024

पढ्न लाग्ने समय :


पाँचथर । अभिभावकले बालबालिकालाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयतर्फ लैजान थालेपछि पाँचथरको एक विद्यालयका प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनका लागि अक्षयकोष स्थापना गरेका छन् ।

कुम्मायक गाउँपालिका–१ खाल्डेस्थित खाल्डे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एगेन्द्रबहादुर खड्का र उनका श्रीमती एवं सोही विद्यालयका हालका प्रधानाध्यापक गीता खड्काले दुई लाख ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् ।

विद्यालयमा हाल कक्षा तीनसम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । अक्षयकोषको ब्याजबाट माथिल्ला कक्षामा समेत अङ्ग्रेजी माध्यममा पठनपाठन गराउन तथा शैक्षिक गुणस्तर सुधार गर्न खड्का दम्पतीले अक्षयकोष स्थापना गरेका हुन् । मातापिताको स्मृतिमा ‘खड्ग पद्म खड्का स्मृति अक्षयकोष’ स्थापना गरिएको हो ।

कतिपय अभिभावकले आफ्ना बालबालिकालाई कक्षा चारदेखि अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा भर्ना गर्ने गरेका छन् । यसलाई रोक्न अक्षयकोष स्थापना गरिएको पूर्वप्रअ खड्काले बताए । “जनशक्ति अभावले विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न सकेको छैन् । अक्षयकोषबाट यसका लागि मद्दत पुग्छ”, उनले भने ।

झण्डै ३७ वर्ष शिक्षण पेशा गरेका एगेन्द्रबहादुरले गत वैशाख १ गते उमेर हदका कारण अनिवार्य अवकास पाउनुभएको हो । त्यसयता उनकै श्रीमती गीता खड्काले विद्यालयको प्रअ बनेर जिम्मेवारी सम्हाल्दै आएका छन् । खड्का दम्पतीले स्थापना गरेको अक्षयकोष विद्यालयसँगको समझदारीअनुरुप अङ्ग्रेजी माध्यमको विस्तार तथा शैक्षिक गुणस्तर सुधारका कार्यमा खर्च हुनेछ । उहाँहरुको अक्षयकोषमा रु पाँच लाख जम्मा गर्ने लक्ष्य छ ।

“मावि (कक्षा ९–१०) तहमा एउटा दरबन्दी मात्र छ । एक स्वयम्सेवक शिक्षक हुनुहुन्छ । निमावि र प्रावि तहमा पनि आवश्यकताअनुसार दरबन्दी छैन”, पूर्वप्रअ खड्काले भने, “विगतमा अभिभावकबाट चन्दा उठाएर विद्यालयको वृत्तिविकासमा लगानी गरेका थियौँ । सोही कुरा सम्झेर अरुलाई उत्प्रेरित गर्न अक्षयकोष स्थापना गरेका हौँ ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्कबहादुर पौडेल सरकारले उपलब्ध गराउनेबाहेक आम्दानीको स्रोत नहुँदा शैक्षिक गुणस्तर सुधार्न नसकिएपछि अभिभावक तथा सरकोरवालालाई विद्यालयमा थप लगानी गर्न अनुरोध गरिएको बताउँछन् । उनले पनि एक लाख ५१ हजारको अक्षयकोष स्थापना गरी विद्यालयलाई सहयोग गर्दै आएका छन् ।

पौडेल परिवारले खम्बसिंह पौडेल स्मृति अक्षयकोष स्थापना गरेपछि अर्का अभिभावक वसन्त चाम्लिङले रु एक लाख आठ हजारको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयमा स्थायी, राहत, स्वयम्सेवकलगायत दरबन्दीका १२ तथा निजी स्रोतका एक शिक्षक कार्यरत छन् ।

उपलब्ध जनशक्तिबाट अङ्ग्रेजी माध्यममा पठनपाठन विस्तार गर्न विद्यालयले नसकिरहेको प्रअ खड्काको भनाइ छ । विसं २०१८ मा स्थापना भई ०६६ सालबाट माध्यमिक तहमा विस्तार भएको उक्त विद्यालयमा हाल १४२ विद्यार्थी अध्ययनरत छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।