त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

Wednesday November 29, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो ।

त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टर प्रणाली अनुसार सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिए । “स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिँदै आइरहेका थियौँ”, उनले भने, “सेमेष्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोकृष्ट भन्ने छुट्याउन समस्या भएको हो ।”

“पदकका लागि विद्यार्थी छनोट गर्दा प्राप्ताङ्कको प्रतिशतका आधारमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने एक जना विद्यार्थी छनोट गरिन्थ्यो”, जोशीले भने, “हाल सेमेष्टरअन्तर्गत ग्रेडिङ प्रणाली अनुसार मूल्याङ्न गरिने हुँदा सर्वोकृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि पदक नदिने निर्णय भएको हो ।”

कुलपति पदक नौ वटै सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिँदै आइएको थियो । पदकमा तीन तोला सुनसहित र प्रमाणपत्र हुने गरेको उनको भनाइ थियो ।

दीक्षान्त समारोहमा उपकुलपति पदक भने प्रदान गरिने जोशीले जानकारी दिए । उनका अनुसार उपकुलपति पदक स्नातक तहमा सर्वोकृष्ट अङ्क ल्याउने एक जना विद्यार्थीलाई प्रदान गरिने छ । उपकुलपति पदकमा एक तोला सुन र प्रमाणपत्र हुन्छ ।

त्रिविको ४९औ दीक्षान्त समारोह यही पुस २ गते दशरथ रङ्गशालामा हुने भएको छ । त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले स्नातकोत्तर तहमा सबै विषयमा ग्रेडिङ पद्दति लागू भइसकेकाले सर्वोकृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि कुलपति पदकका लागि सिफारिस गर्न नसकिएको बताए ।

“पहिला वार्षिक परीक्षामा विद्यार्थीले प्राप्ताङ्कको आधारमा सर्वोकृष्ट विद्यार्थीको हो भनेर सजिलै छुट्याउन सकिन्थ्यो”, उनले भने, “स्नातकोत्तर तहमा सबै ग्रडिङ पद्दति लागू भइसकेकाले सर्वोकृष्ट विद्यार्थी छुट्याउन सकिँदैन । ९० देखि ९९ अङ्क पाउने एउटै ग्रेडमा रहन्छन् ।”

दाहालले विश्वमा नै ग्रेडिङ पद्धति लागू भइसकेको अवस्थामा नेपालमा पनि लागू गरिएको बताए । उनले विस्तारै स्नातक तहमा पनि ग्रेडिङ पद्दति लागू हुने बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।