भूकम्प प्रभावित क्षेत्रमा अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरु

Thursday November 23, 2023

पढ्न लाग्ने समय :


त्रिवेणी ।  गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ५ रेक्टरस्केलको भूकम्पले मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । त्यसमा विद्यालयका भवन पनि सुरक्षित रहन सकेनन् । विद्यालय भवनमा क्षति पुर्याएपछि विद्यालय नजिकै विद्यार्थीका लागि त्रिपाल प्रयोग गरेर अस्थायी सिकाइ केन्द्र स्थापना गरी बालबालिकाको पठनपाठन सुरु गरिएको छ ।

जिल्लाभरमा कूल दुई सय १३ वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरिएको छ । केही सिकाइ केन्द्र स्थापना भएर पठनपाठन सुरु भएको छ भने केही निर्माणको क्रममा रहे पनि पठनपाठन भने जिल्लाभर नै सुरु भइसकेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिए ।

भूकम्पले बढी प्रभावित पारेको आठविसकोट नगरपालिकामा एक सय ३९ र सानीभेरी गाउँपालिकामा ७४ सिकाइ केन्द्र स्थापना गरिएको छ । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा भूकम्पले विद्यालय भवनमा त्यति धेरै क्षति नगरेकाले विद्यालय भवनबाटै पठनपाठन भइरहेको एकाइ प्रमुख पुनले जानकारी दिए । एक महिनाको लामो बिदापछि सोमबारदेखि विद्यालय खुलेका छन् ।

भूकम्पले आठविसकोटका ६४ विद्यालयमध्ये ५३ मा क्षति पुर्याएको छ । जसमा दुई सय ५२ वटा कक्षाकोठा र ७६ वटा शौचालयमा क्षति पुगेको आठविसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले जानकारी दिए । नगरपालिकामा नौ हजार आठ सय ४७ विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । एघार विद्यार्थीको मृत्यु भएको छ भने एक जना कार्यालय सहयोगीको पनि भूकम्पमा परी मृत्यु भएको छ ।

नगरपालिकाका अधिकांश ठाउँमा पठनपाठन सुरु भए पनि केही ठाउँमा अस्थायी सिकाइ केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेकाले तत्काल पठनपाठन सुरु हुने उनले जानकारी दिए । भूकम्पले शैक्षिक सामग्रीमा क्षति पुगेकाले आवश्यक सामग्री उपलब्ध गराइएको   नगरपालिकाले जनाएको छ ।

भूकम्पप्रभावित क्षेत्रका सबै ठाउँमा अस्थायी सिकाइ केन्द्र निर्माण सकिएकौ छैन । अस्थायी सिकाइ केन्द्र निर्माण नभएका ठाउँमा विद्यालयको खुला चउरबाटै पठनपाठन भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ रुकुम पश्चिमले जनाएको छ ।

भूकम्पका कारण रुकुम पश्चिममा एक सय आठ विद्यालयका पाँच सय ४४ वटा कक्षा कोठामा क्षति पुगेको छ भने एक सय ३८ वटा शौचालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।