स्याङ्जामा स्क्रब टाइफस देखियो, विद्यालय बन्द

Thursday September 28, 2023

पढ्न लाग्ने समय :


वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेसँगै विद्यालय बन्द गरिएको छ ।

विद्यार्थीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पौडेलले बताए ।

“विद्यालयमा अध्ययनरत करिब आधा विद्यार्थी तथा शिक्षकमा उच्च ज्वरो आउने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या देखिएपछि आज र भोलि विद्यालय बन्द गरेका हौँ”, उनले भने, “हिजो र आज विद्यार्थीमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि जिल्ला अस्पताल स्याङ्जामा गरिएको परीक्षणमा स्क्रब टाइफस भएको पुष्टि भएको हो ।”

सामान्य विद्यार्थीको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको र उच्च ज्वरो आएका विद्यार्थीको जिल्ला अस्पताल स्याङ्जामा उपचारका लागि पठाइएको उनले बताए । जिल्ला अस्पताल स्याङ्जामा बुधबार पठाइएका बिरामीमध्ये एक जनामा स्क्रब टाइफस पुष्टि भएको अर्जुनचौपारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरकुमार केसीले बताए ।

बिरामी विद्यार्थीको परीक्षण गर्दा एक जनामा स्क्रब टाइफस देखिएपछि आज फेरि स्वास्थ्य कार्यालय स्याङ्जाबाट आएको टिम उक्त विद्यालयमा पुगेको थियो । विद्यालयमा पुगेको टोलीले १२ जना विद्यार्थीको कीटबाट परीक्षण गरेको थियो जसमध्ये कुनै पनि विद्यार्थीमा स्क्रब टाइफसको लक्षण नदेखिएको उनले बताए ।

स्वास्थ्य कार्यालयबाट आएको टोली र अर्जुनचौपारी गाउँपालिकाबाट पुगेको स्वास्थ्यकर्मीको टोलीले विद्यालय तथा समुदाय वरपर सरसफाइ तथा स्वास्थ्य सचेतना गरेको थियो । स्क्रब टाइफसबाट कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी बढी प्रभावित भएका छन् । विद्यालय तथा आसपासका गाउँलेमा पनि ज्वरो आउनेजस्ता लक्षण देखिएको उनले बताए ।

रोग नियन्त्रणका लागि विद्यालय र समुदायस्तरमा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख केसी बताउछन् ।

धेरै सरुवा रोगमध्येको स्क्रब टाइफस एउटा रोग हो । यो मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्ने गर्दछ । स्क्रब टाइफस भएका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने, श्वासप्रश्वाससम्बन्धी समस्या देखिने, शरीरमा रातो डावर हुने लक्षण देखिने उनले बताए ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।