बालीविज्ञान पढ्ने १६ विद्यार्थीलाई गाउँपालिकाबाट छात्रवृत्ति

Monday July 24, 2023

पढ्न लाग्ने समय :


टक्सार (भोजपुर) । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बालीविज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

गाउँपालिकामा गत वर्षबाट सञ्चालनमा आएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बालीविज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाकाले छात्रवृत्ति सहयोग गर्न लागेको हो । रामप्रसाद राई–५ मानेभञ्ज्याङ, आमबोटेमा गत वर्षबाट शिक्षालय खुलेसँगै बालीविज्ञान कक्षा सञ्चालन हुँदै आइरहेको छ । गाउँपालिकाभित्र रहेका आठ वडाका दुई/दुई गरी १६ विद्यार्थीलाई बालीविज्ञान अध्ययनका लागि गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको गाउँपालिकाको प्रशासन शाखाका अनन्त राईले जानकारी दिए ।

राईका अनुसार बहुप्राविधिक शिक्षालयमा तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर ९बाली विज्ञान० मा अध्ययन गर्ने विद्यार्थीले पालिकामार्फत छात्रवृत्ति पाउने छन् । गाउँपालिका शिक्षा शाखा प्रमुख दानबहादुर भट्टराईका अनुसार छात्रवृत्ति प्रदान गर्ने विषयमा गाउँकार्यपालिका र शिक्षा समितिले निर्णय गरिसकेको छ भने छात्रवृत्तिका लागि आवेदनसमेत माग गरिएको छ । गाउँपालिकाका अनुसार छात्रवृत्ति पाउन एसइई परीक्षामा कम्तीमा एक दशमलव छ जिपिए ल्याएको हुनुपर्नेछ ।

आफ्नै पालिकामा शिक्षालय सञ्चालनमा रहेकाले स्थानीयस्तरमा नै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति दिन लागिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । छात्रवृत्तिका लागि परेका आवेदनमा जेहेन्दार र विपन्नलाई प्राथमिकता दिइनेछ । गाउँपालिका अध्यक्ष राईले भने, “पालिकाले भोजपुर बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थीलाई समेत छात्रवृत्ति उपलब्ध गराइरहेको छ, यो आफ्नै पालिकामा रहेको बहुप्राविधिक शिक्षालयमा पनि अध्ययन गर्ने विद्यार्थीलाई पनि छात्रवृत्ति दिने निर्णय गरिएको हो ।” यसले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण पनि बढ्ने उनले बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा आफ्नै जन्मगाउँ मानेभञ्ज्याङको आमबोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेको हो । भोजपुर जस्तो दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न उनको पहलमा  ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण भएको थियो । पचपन्न रोपनी क्षेत्रफलमा निर्माण गरिएको प्राविधिक शिक्षालयलाई पूर्वराष्ट्रपति भण्डारीले ३७ रोपनी र उनका अन्य परिवारले १८ रोपनी जग्गा निःशुल्क प्रदान गरेको थियो ।

शिक्षालयमा एकेडेमिक भवनका साथै छात्राबास, कर्मचारी आवास गृह, कम्प्युटर ल्याब, प्रयोगात्मक भवन पनि निर्माण गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त शिक्षालयमा बालीविज्ञानको अध्ययन अध्यापन भइरहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।