रामपुरको दश उत्कृष्ट विद्यालयभित्र पर्ने मदरसा विद्यार्थीको मुठ्ठीदानबाट सञ्चालन

Sunday July 2, 2023

पढ्न लाग्ने समय :


पाल्पा। मुठ्ठीदान तथा चन्दादाताबाट खर्च जुटाएर धेरै विद्यालय सञ्चालन गरिएका छन् । पाल्पा रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा रहेको मदरसा नुरुल हुदा आधारभूत विद्यालय एक नमुना धार्मिक विद्यालयका रुपमा चिनिएको छ । मुस्लिम समुदायका बालबालिकालाई शिक्षा दिन चन्दा उठाएर, विद्यार्थीबाट मुठ्ठीदान सङ्कलन (जकात फण्ट) गरी उक्त विद्यालय सञ्चालन भइरहेको छ ।

यस विद्यालय रामपुरको दश उत्कृष्ट विद्यालयभित्र पर्दछ । हरेक हप्ताको बिहीबार विद्यार्थीले घरमा उत्पादन भएका विभिन्न अनाज विद्यालयमा लैजाने गर्दछन् । “हरेक बिहीबार विद्यार्थीले घरमा उत्पादन भएका अनाज लिएर आउँछन् । बिहीबार विद्यालय आउँदा अनिवार्य केही न केही घरबाट लिएर आउनुपर्ने हुन्छ”, विद्यालयका सहायक प्रधानाध्यापक मोहम्मद सलिमले भने।

विद्यार्थीले आफूले सकेको अनाज लिएर आउने र उक्त अनाज सङ्कलन गरेर विद्यालयको छात्रावासमा बसोबास गर्ने विद्यार्थीका लागि खाद्यान्नका रुपमा प्रयोग गरिने उनले जानकारी दिए। सलिमका अनुसार विद्यार्थीले गरेको मुठ्ठीदानबाट छात्रावासमा बसोबास गर्ने विद्यार्थीलाई खाद्यान्न व्यवस्थापनमा सघाउ पुगेको छ।

“विद्यालयले मुठ्ठीदान ल्याउन अनिवार्य गरेको छैन । दैनिक विद्यालय अध्ययन गर्न आउने विद्यार्थीले स्वेच्छाले घरबाट अनाज मुठ्ठीदानका रुपमा ल्याउने गरेका छन्”, उनले भने।

विद्यार्थीले ल्याएको मुठ्ठीदानबाट सङ्कलित अनाजले छात्रावासमा बसोबास गर्ने विद्यार्थीका लागि करिब चारदेखि छ महिनासम्म खाद्यान्न व्यवस्थापन हुने विद्यालयले जनाएको छ। यस धार्मिक विद्यालयमा मुस्लिम समुदायका बालबालिकाले मात्रै अध्ययन गर्दछन् । यहाँ पठनपाठन गर्न देशका विभिन्न जिल्लाका विद्यार्थी आउने गरेका छन् । हाल विद्यालयमा छात्र ८१, छात्रा एक सय ३२ गरी जम्मा दुइ सय १३ विद्यार्थी अध्ययनरत छन् ।

जिल्ला बाहिरका ८२ र स्थानीय एक सय ३१ विद्यार्थी शैक्षिक सत्रमा भर्ना भई अध्ययनरत रहेको विद्यालयले जनाएको छ । छात्रावासमा जिल्ला बाहिरबाट आएका ८२ विद्यार्थी रहेका विद्यालयका लेखापाल महम्मद अलिले बताए।

उनका अनुसार यहाँ नेपालगञ्ज, रुपन्देही, वीरगञ्ज, सुनसरी, भैरहवा, कैलाली, नवलपुर, तनहुँलगायत जिल्लाका विद्यार्थी छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । नेपाली भाषा प्रष्ट पढ्न पाइने, धार्मिक पढाइ हुने, नेपाल सरकारका सबै विषय पठनपाठन हुने भएकाले बाहिरबाट यहाँ पढ्न आउनेको आकर्षण बढेको अलिको भनाइ छ।

विद्यालयको प्रयाप्त आयस्रोत केही नभए पनि मुठ्ठीदान र चन्दाकै भरमा गुणस्तरिय शिक्षा प्रदान भइरहेकाले बाहिरी जिल्लाका धेरै विद्यार्थी पढ्न सम्पर्कमा आउने गरेको उनले जानकारी दिए। उनका अनुसार सरकारले अनिवार्य गरेका सबै विषयसहित उर्दु, अरेबिक, दिनियाँत (नैतिक शिक्षा), कुरान, कम्प्युटर विषय समेत पठनपाठन हुने गरेको छ ।

अन्य विद्यालयमा शनिबार बिदा हुने गरेकामा यहाँ शुक्रबार हप्तामा एक दिन बिदा दिने गरिएको विद्यालयले जनाएको छ । विसं २०५५ मा तत्कालीन जिल्ला शिक्षा कार्यालय पाल्पाबाट स्वीकृति लिएर कक्षा १ देखि ५ सम्म सञ्चालन गरिएको थियो । विसं २०६० मा छिमेकी सीताराम माध्यमिक विद्यालयसँग समन्वय गरेर कक्षा ७ सम्म सञ्चालन गरिएको थियो ।

विसं २०६८ मा कक्षा ६ देखि ८ सम्म विद्यालयले अनुमति लिएर आफ्नै भवनबाट कक्षा सुरु गरेको हो । कक्षा ९ देखि १० सम्म पठनपाठनका लागि प्रक्रिया पूरा भइसकेको हुँदा अनुमति पाएलगत्तै छिट्टै सञ्चालनको तयारी भइरहेको विद्यालयका सहायक प्रधानाध्यापक मोहम्मद सलिमले जानकारी दिए । उनका अनुसार यहाँ साँढे दुई वर्ष उमेरदेखिका बालबालिका पढिरहेका छन् ।

रामपुरमा मदरसा स्थापना नहुँदा यस क्षेत्रका मुस्लिम समुदायका विद्यार्थी विराटनगर, भारतको आजमघट, बिहारमा गएर पढ्नुपर्ने अवस्था थियो । यस क्षेत्रमा मदरसा खुलेपछि रामपुरका मात्र नभइ छिमेकी जिल्ला तनहुँ, स्याङ्जा, नवलपुर क्षेत्रका मुस्लिम समुदायका विद्यार्थीलाई पठनपाठनमा धेरै सजिलो भएको छ। विद्यालयको नाममा पाँच रोपनी जग्गा छ । हाल साँढे दुई रोपनी जग्गामा विद्यालय सञ्चालन भइरहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।