सेती अस्पतालबाट प्रहरीको निगरानीमा रहेका एक थुनुवा फरार
पढ्न लाग्ने समय :
धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालबाट एक थुनुवा फरार भएका छन्। सेती अस्पतालमा उपचारका लागि ल्याइएकोमा उनी फरार भएका हुन्। लागुऔषध मुद्दामा प्रहरीको थुनुवामा रहेका मुकेश राना फरार भएका प्रहरीले बताएको छ।
बिहीबार मिर्गी भएर ढलेपछि धनगढी उपमहानगरपालिका—७ मनहेराका ३२ वर्षीय मुकेश रानालाई प्रहरीले उपचारका लागि सेती प्रादेशिक अस्पताल लगेको थियो। तर, राना उपचारकै क्रममा भागेको प्रहरीले जनाएको छ।
अस्पतालमा प्रहरीको निगरानीमा रहेका राना राति पौने ९ बजेतिर भागेका थिए। अस्पतालबाट भागेका रानाको खोजी भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले रानाको खोजी कार्य भइरहेको जानकारी दि । उनकाअनुसार रानालाई प्रहरीले १३ ग्राम ब्राउन सुगरसहित २४ चैतमा पक्राउ गरेको थियो ।
बिहीबार साँझ मिर्गी आएर ढलेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो। तर, होस् खुलेपछि निगरानीमा खटिएका प्रहरीको नियन्त्रणमा उनी भागेर फरार भएका थिए।