सेती अस्पतालको फोहोरमैला व्यवस्थापनमा फेरि भद्रगोल
पढ्न लाग्ने समय :
धनगढी : सुदूरपश्चिमको रेफरल अस्पतालको रूपमा परिचित सेती अस्पतालमा दैनिक एक हजार पाँच सयको हाराहारीमा बिरामीहरू ओपीडि सेवाका लागि आउने गरेका छन्।
अस्पतालका बिरामीको चाँप बढ्दै जाँदा फोहोर व्यवस्थापनमासमेत समस्या हुदै आएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको सेती प्रादेशिक अस्पतालले १७ जना सफाइ कर्मचारी मार्फत सरसफाइ गर्दै आएको छ। तर, अस्पतालका वार्डहरू, शौचालयहरू र बढी भिड हुने क्षेत्रको फोहोर व्यवस्थापन भएको छैन। धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी देवकी सिंहले अस्पतालको फोहोरका कारण उल्टै बिरामी हुने अवस्था रहेको बताइन। उनले भनिन, ‘बाजेको उपचारका लागि सेती अस्पताल गएको थियो। जता पनि फोहोर छ। खाना खाएको फोहोर त्यही छ। शौचालयमा पानी आउदैन। धेरै फोहोर रहेछ।’ सेती प्रादेशिक अस्पतालले कुहिने, नकुहिने र अस्पतालजन्य फोहोरको वर्गाीकरणका लागि प्लास्टिकका डस्टबिनहरु पनि राखेको छ।
तर, अस्पतालका वाडहरुमा बिरामी तथा कुरुवाहरुले खाना खाने र शौचालय तथा वाडहरुमा फोहोर गर्ने भएकाले समस्या भएको हो। अस्पतालका भित्ताहरु तथा शौचालयहरूमा मेघाश्री लगायतका तम्बाकु जन्य बस्तु सेवन गरेर थुक्ने प्रवृतिका कारणसमेत फोहोर भएको अस्पतालले बताएको छ। अस्पतालमा बिरामीको सङ्ख्या धेरै र अस्पतालको जनशक्ति कम भएकाले समस्या भएको अस्पताल व्यवस्थापन अधिकृत वेदप्रकाश जोशीले बताए। उनले भने, ‘अस्पतालमा दैनिक १५ सय बिरामी आउने गरेका छन्। बिरामीको सङ्ख्या धेरै भएकाले पनि हो। हामीसँग जनशक्ति कम छ। १७ जनाको टिम लागेकै हुन्छ। तपाइहरु सरसफाइ गर्ने समयमा पनि पर्नु भएको होला।’
सेती प्रादेशिक अस्पतालमा पुराना र जीर्ण भौतिक संरचनाहरूका कारणले समेत फोहोर व्यवस्थातापनमा समस्या देखिएको हो। अस्पतालका भवनहरूमा धमिरा लागेका छन्। टिनको छानो मुनीको प्रसूति कक्षमा झनै समस्या रहेको छ। अस्पतालका शौचालयहरू समेत धेरै वर्ष पुनारा भएका छन्। अस्पतालका बिरामी तथा सेवा अनुसारको भौतिक संरचना नभएकालेसमेत फोहोर व्यवस्थापनमा समस्या भएको छ। सेती अस्पतालले आफ्नै फोहोर व्यवस्थापन केन्द्र सञ्चालन गरेको छ। तर, जनशक्तिको अभाव देखाउदै फोहोर व्यवस्थापन भद्रगोल देखिएको छ।
सेती प्रादेशिक अस्पताल २८ लाख सुदूरपश्चिमका नागरिकको स्वास्थ्य उपचार सेवासँग जोडिएको अस्पताल हो। धनगढीमा निजी क्षेत्रका अस्पतालहरू विस्तार र गुणस्तरीय हुँदै जाँदा सेतीको सेवा विस्तार र व्यवस्थापन भने हुन सकिरहेको छैन।