सुनसरी तनावबारे प्रचण्डको चिन्ता : सरकार साझा समाधानतर्फ अग्रसर हुन नसकेको आरोप
पढ्न लाग्ने समय :
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका संवेदनशील समस्याको साझा समाधान खोज्न सरकारppra अग्रसर हुन नसकेको आरोप लगाउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार आह्वान गरेको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले संकटको समयमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने बताउनुभयो।
उहाँले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्तो संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाई सामाजिक सद्भाव, आपसी विश्वास र राष्ट्रिय एकतालाई सुदृढ बनाउन आग्रह गर्नुभयो।
प्रचण्डले विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद् तथा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा राजनीतिक दलहरूले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै अहिले पनि त्यस्तै राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्नुभयो।
राष्ट्रिय महत्वका संवेदनशील विषयमा सरकार किन साझा समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन भन्ने गम्भीर प्रश्न उठेको भन्दै उहाँले सबै राजनीतिक शक्ति मिलेर समस्याको निकास खोज्नुपर्नेमा जोड दिनुभयो।