बाजुरामा सीमाना विवाद हुँदा झडप, प्रहरीसहित पाँच जना भाइते
पढ्न लाग्ने समय :
धनगढी : बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण र सीमा विवादलाई लिएर भएको झडपमा प्रहरीसहित पाँच जना घाइते भएका छन्।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले मंगलबार बिहान सीमा विवादको विषय उठाउँदै विरोध जनाएपछि बाजुराको हिमाली गाउँपालिकाका स्थानीयसँग झडप भएको थियो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार झडपमा हिमाली गाउँपालिका–३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मिनु कुँवर, प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका कार्यकारी प्रमुख कुलबहादुर थापा घाइते भएका छन्। उनीहरूको ढाड, गर्धन, छाती तथा खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
सीमा विवाद पुरानै भए पनि मंगलबार हिमाली गाउँपालिका अध्यक्षसहित ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियान अन्तर्गत शैपाल हिमालको बेस क्याम्पतर्फ गइरहेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल नेतृत्वको टोली घटनास्थल पुगेका बेला तनाव बढेको थियो।
प्रहरीका अनुसार भ्रमण टोलीले ड्रोनमार्फत भिडियो खिच्ने क्रममा थाली गाउँका करिब तीन सय स्थानीय आक्रोशित बनेपछि विवाद चर्किएको हो। त्यसपछि स्थानीयले नगर प्रमुख हमालसहितको टोलीलाई अघि बढ्न नदिएको बताइएको छ।
सञ्चार सम्पर्क हुन नसकेकाले हमालको टोली फर्किएको वा अघि बढेको भन्नेबारे स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटामा प्रहरी चौकी भवन निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। तर, खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयले उक्त क्षेत्र आफूहरूले विगतदेखि चलनभोग गर्दै आएको दाबी गर्दै चौकी निर्माणको विरोध गर्दै आएका छन्। सीमा विवाद समाधानका लागि भने हालसम्म ठोस पहल हुन सकेको छैन।