पत्रकार खेम भण्डारी कारागार चलान

Friday July 3, 2026

पढ्न लाग्ने समय :


धनगढी : फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका पत्रकार खेम भण्डारीलाई कारागार चलान गरिएको छ। गाली बेइज्जती मुद्दामा अदालतबाट एक महिना ७ दिन कैद र १२ हजार १ सय रुपैयाँ जरिवानाको सजाय पाएका भण्डारीलाई बिहीबार कारागार पठाइएको हो।
भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ बमोजिम रकम बुझाई कैद मिलान गरिपाऊँ भन्दै कानुन व्यवसायीमार्फत कञ्चनपुर जिल्ला अदालतमा निवेदन दिएका थिए। तर न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उक्त माग अस्वीकार गरेपछि उनलाई कारागार चलाइएको तहसिलदार नारायणदत्त ओझाले जानकारी दिए।

ओझाका अनुसार रकम बुझाएर कैद मिलान गर्ने व्यवस्था पहिलोपटक कैद सजाय पाएका प्रतिवादीका हकमा मात्र लागू हुने कानुनी प्रावधान छ। भण्डारी यसअघि पनि कैद सजाय पाइसकेकाले उक्त सुविधा प्राप्त गर्न नसकेको उनले बताए।
यसअघि पनि निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित अर्को मुद्दामा भण्डारीलाई एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय भएको थियो।

पछिल्लो पटक निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणसँग सम्बन्धित विषयमा प्रकाशित समाचारलाई लिएर दायर भएको गाली बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते भण्डारीलाई दोषी ठहर गरेको थियो। जिल्ला अदालतले उनलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो।
उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले थप ७ दिन कैद र २ हजार १ सय रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएपछि उनलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको हो।

निर्मला पन्त प्रकरणमा आफूलाई तथ्यहीन रूपमा जोड्दै समाचार प्रकाशन गरेको आरोप लगाउँदै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक  दिल्लीराज विष्टका छोरा तथा राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार किरण विष्टले भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।
विसं २०७५ साउन १० गते साथीको घरमा पढ्न गएको भन्दै घरबाट निस्किएकी किशोरी निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिका–२ स्थित निम्बुखेडा खोलानजिकको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। बहुचर्चित उक्त हत्या प्रकरणका वास्तविक दोषी अहिलेसम्म पहिचान हुन सकेका छैनन्।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको