धनगढीमा सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार गर्ने गिरोहका दुई भारतीयसहित ९ जना नियन्त्रणमा

Sunday July 19, 2026

पढ्न लाग्ने समय :


धनगढी:  कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–४ स्थित एक फ्ल्याटबाट सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार (हुण्डी) सञ्चालन गरिरहेको आरोपमा दुई भारतीय नागरिकसहित ९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार युवायुवतीलाई राखी संगठित रूपमा सफ्टवेयर प्रयोग गरेर अवैध मुद्रा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले उक्त फ्ल्याटमा खानतलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूलाई अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा कैलालीको गौरीगंगा नगरपालिका-६ वनबेहडाका ३४ वर्षीय प्रेमबहादुर साउद, कपिलवस्तुको विजयनगर नगरपालिका–१२ का ३४ वर्षीय बिपिन मगर, भारतको दिल्ली राज्यको रानी जिल्लाका ३६ वर्षीय रविकुमार सूर्यवंशी, भारतको हरियाणा राज्यको सोनीपत जिल्लाका ३७ वर्षीय दिपक कुमार जाट, चितवनको भरतपुर महानगरपालिका-९ रामनगर निवासी ३७ वर्षीय जितेन्द्र केसी, ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने ४३ वर्षीय राजकुमार गौतम, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ तिलगिरी निवासी ४५ वर्षीय राजन चुडाल, झापाको दमक नगरपालिका–९ सुखानीबस्ती निवासी ४५ वर्षीय हरि प्रसाद चापागाईं तथा कैलालीको धनगढी उपमहानगरपालिका–३ मनहरा निवासी ३१ वर्षीय ज्ञानेन्द्र ढकाल रहेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरूले सफ्टवेयरको माध्यमबाट अवैध मुद्रा कारोबार सञ्चालन गरिरहेको खुलेको छ। घटनासँग सम्बन्धित डिजिटल उपकरण तथा अन्य सामग्रीसमेत नियन्त्रणमा लिएर प्राविधिक परीक्षण भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेका सबैलाई अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जानाएकाे छ।

साथै अवैध मुद्रा कारोबार, हुण्डी तथा अन्य आर्थिक अपराधमा संलग्न नहुन र त्यस्ता गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचित गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको