कैलालीको टीकापुर नगरपालिका नेतृत्व विहीन

Thursday February 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको टीकापुर नगरपालिका नेतृत्वविहीन बनेको छ।

नगर प्रमुख रामलाल डगौरा राजीनामा दिएर नेकपाबाट कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा उत्रिएपछि नगरपालिका नेतृत्वविहीन बनेको हो।

नगर उप–प्रमुख खडक शाह भ्रष्टाचार मुद्दा लागेपछि यसअघि नै निलम्बनमा छन्। अब १७ जना कार्यपालिका सदस्यमध्ये एकजनाले कार्यवाहक प्रमुखको जिम्मेवारी पाउनेछन्। तर, कार्यवाहक नगर प्रमुख तोक्न कार्यपालिका बैठक बसेको छैन। स्थानीय सरकार सञ्चालन ऐनमा नगर प्रमुख र उपप्रमुख दुवै नभएको अवस्थामा कार्यपालिकाले कार्यवाहक प्रमुख तोक्ने व्यवस्था छ।

नगरपालिका नेतृत्वविहीन भएपछि नगर प्रमुख रहने स्थानीय स्वास्थ्य बोर्डबाट विपन्न वर्गका बिरामीलाई सहायता दिने निर्णय, घरनक्सासम्बन्धी पुनरावेदनका काम प्रभावित भएको कर्मचारी बताउँछन्। नगर प्रमुख र उपप्रमुख दुवै नहुँदा कतिपय महत्वपूर्ण नीतिगत निर्णय गर्न, नीति तथा कार्यक्रम निर्माण गर्न, योजना कार्यान्वयन, अनुगमनजस्ता विषयमा समस्या हुनेछ।

प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले नगर प्रमुख र उप प्रमुख नहुँदा नगरपालिकाको काममा अहिले नै कुनै असर नपरेको बताए। टीकापुर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेपछि नगर उपप्रमुख शाह करिब दुई वर्षदेखि निलम्बनमा छन्। न्यायिक समितिका काम प्रभावित छन्।

डगौराले मुलुकको अहिलेको परिस्थितिमा फरक जिम्मेवारीमा जानुपर्ने भएकाले पदबाट राजीनामा दिएकोे बताए। उनी २०७९ मा नागरिक उन्मुक्तिबाट नगर प्रमुखमा निर्वाचित भएका थिए। तर, हाल उक्त पार्टी नेकपामा समाहित भएको छ। टीकापुर नगरपालिकामा हाल कायम १७ जना कार्यपालिका सदस्यमध्ये ११ जनासहित नेकपाको बहुमत छ ।

त्यसमध्ये सात नागरिक उन्मुक्तिबाट र चार पूर्वमाओवादीबाट निर्वाचित हुन्। काँग्रेसका पाँच र एमालेका एकजना सदस्य छन्। नौवटा वडाध्यक्षमा पूर्वमाओवादी र काँग्रेसबाट तीन–तीन, नागरिक उन्मुक्तिबाट दुई र एमालेबाट एकजना निर्वाचित भएका थिए।

 


भर्खर

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि

सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश जारी

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (निवारण अध्यादेश, २०८३ जारी गरेका छन। उनले नेपालको

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

बैतडी : बैतडीको मेलौली नगरपालिका–८ कोटीगाउँस्थित कच्ची सडकमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका