सुदूरपश्चिम प्रदेश सभामा बजेट अझै टेबुल भएन

Monday June 29, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल हुनुपर्नेमा सरकारले अझैसम्म बजेट प्रदेश सभामा टेबुल गर्न सकेको छैन । बजेटप्रति सत्तापक्षकै व्यापक असन्तुष्टि देखिएपछि प्रदेश सरकारले बजेट प्रस्तुत भएको दुई सातासम्म पनि सभामा टेबुल गर्न नसकेको हो ।

प्रतिपक्षले सरकारको बजेट नै असफल पार्ने चेतावनी दिइरहेका बेला सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) ले बजेट संशोधनका लागि प्रदेश सरकारलाई दबाब दिएको छ । बजेट संशोधन नगरिए सो पार्टीले सरकारबाट बाहिरिने यसअघि नै उद्घोष गरिसकेको छ ।

प्रदेश सरकारले असार १ गते मध्यरातमा आगामी आव २०८३/८४ को बजेट सभामा प्रस्तुत गरेको थियो । मध्यराति बजेट प्रस्तुत गरिएका कारण बजेटसँग सम्बन्धित विनियोजन विधेयक र अर्थ विधेयक भने सभामा टेबुल गरिएन । अहिलेसम्म बजेट नै टेबुल नभएकाले बजेटमाथि छलफलका लागि सभाको बैठकको टुङ्गो नलागेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । उनले भने, “सभाको बैठकको अझैसम्म टुङ्गो लागिसकेको छैन । सभा सञ्चालनका लागि एकचोटी कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो तर सत्तापक्षबिच नै कुरो नमिलेपछि बैठकको टुङ्गो लाग्न सकेन ।”

प्रदेश सभामा बजेटमाथि छलफलका लागि सरकारले बजेट सभामा टेबुल गर्नु पर्दछ । बजेटको आयव्ययसम्बन्धीको विनियोजन विधेयक र राजस्व सङ्कलनसम्बन्धीको अर्थ विधेयक टेबुल गरिएपछि ७२ घण्टाको संशोधनको समय रहने गर्छ । ७२ घण्टापछि मात्रै बजेटमाथि छलफल सुरु हुने गरेको जनाइएको छ । सरकारले बजेट असफल हुने डरले प्रदेश सभामा टेबुल नगरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति अक्कलबहादुर रावलले बताए । उनले भने, “बजेटमाथि छलफलका लागि बजेट सभामा टेबुल हुनु पर्छ तर बजेट असफल हुने डरका कारण सरकारले बजेट नै सभामा टेबुल गरेको छैन ।”
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ करोड ७० लाख रुपियाँको बजेट प्रस्तुत गरेको थियो ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको