सुदूरपश्चिममा मनसुन पूर्वतयारी पूरा

Friday June 12, 2026

पढ्न लाग्ने समय :


धनगढी: सुदूरपश्चिम प्रदेशमा मनसुन पूर्वतयारी पूरा भएको सरोकारवालाले जनाएका छन् ।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बिहीबार धनगढीमा आयोजना गरेको ‘दोस्रो प्रादेशिक मनसुन फोरम’ कार्यक्रममा सरोकारवाले पूर्वतयारी सम्पूर्ण रूपमा पूरा भएको बताएका हुन् । यो प्रदेशले हरेक वर्ष बाढीपहिरो, डुबान जस्ता मनसुनजन्य विपत्को सामना गर्दै आएको छ । त्यस्तो विपत्मा बर्सेनि जनधनको क्षति हुने गरेको छ ।

मनसुनजन्य विपत्का घटनाबाट जोगिनका लागि पूर्वसूचना र पूर्वतयारी सबैभन्दा बढी आवश्यक रहेको सरोकारवालाको भनाइ छ । मनसुनका बेला विपत् पूर्वसूचना प्रवाहका लागि आफ्नो सबै सञ्जाललाई चुस्तदुरुस्त अवस्थामा राखेको जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख इन्जिनियर सञ्जय साहले बताए। उनले मनसुन आपत्कालीन कार्ययोजना, २०८३ अनुसार काम भइसकेको बताए ।
उनका अनुसार बाढीबारे सूचना दिनका लागि प्रदेशभर ३४ वटाभन्दा बाढी मापन केन्द्र स्थापना गरिएको छ । सबै बाढी मापन केन्द्रहरू स्वचलित छन् । यसै गरी ७६ वटा वर्षा मापन केन्द्र स्थापना गरिएकोमा ४२ वटा स्वचलित छन् । प्रदेशमा अझै २३ वटा बाढी मापन केन्द्र र ११/१२ वटा वर्षा मापन केन्द्र स्थापना गर्न आवश्यक रहेको जनाइएको छ । प्रमुख साहले भने, “दुई वर्षअगाडि अध्ययन गर्दा बाढी मापन केन्द्र र वर्षा मापन केन्द्र थप्नुपर्ने देखिएपछि केही थप पनि भइसकेको छ ।” जल तथा मौसम विज्ञान कार्यालयले मास एसएमएस पठाएर समुदायलाई बाढीको सूचना दिँदै आएको छ । यस वर्षदेखि आइभिआर र ‘सेल ब्रोडकास्ट’ सुरु गर्ने तयारी भइरहेको प्रमुख साहले बताए ।

सामान्यतः जुन १३ मा नेपालमा मनसुनको प्रवेश हुने गरे पनि गत वर्ष मे २९ मै मनसुन आइपुगेको थियो । त्यसै गरी अक्टोबर २ मा मनसुन बाहिरिने तिथि रहेकोमा अक्टोबर १० मा मात्रै नेपालबाट बाहिरिएको थियो । नेपालमा मनसुन सरदर ११२ दिन रहने गर्छ । गत वर्ष १३५ दिनसम्म नेपालमा मनसुन रहेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक