सडक सञ्जालसँग जोडिँदै अपि
पढ्न लाग्ने समय :
दार्चुला : सडक सञ्जालको पहुँचबाहिर रहेको यहाँको एक मात्र स्थानीय तह अपिहिमाल गाउँपालिका अब सडकसँग जोडिँदै छ । सदरमुकाम खलङ्गाबाट करिब २३ कोस उत्तरपश्चिममा रहेको पालिकाको वडा नं। ३ को गौड्याखोलासम्म सडक पुगेको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले जानकारी दिए।
सडक सञ्जालसँग जोडिन बाँकी रहेको दार्चुलाको एक मात्र पाालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत यो सडकलाई प्राथमिकतामा राखेको उनले बताए ।
सडक अभावका कारण स्थानीयले बर्सौंदेखि यातायात, विकास निर्माण र दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भोग्दै आएको अपिहिमाल गाउँपालिका– १ का सोबनसिंह लोथ्यालले बताए। अपिमा सडक पहुँच नहुँदा सबै सामान ढुवानी गर्नुपर्ने स्थानीयलाई बाध्यता छ । मकरीगाडबाट खण्डेश्वरी घुसासम्म सामान ढुवानी गरेको प्रतिकिलो १० रुपियाँ लाग्ने गरेको उनले बताए। स्थानीय खडक रोकायाले भनृ, “अपि सडकको पहुँचसँग जोडिए ढुवानी भाडामा केही राहत होला ।” गाउँपालिकाको वडा नं। ५ मकरीगाडसम्म मात्रै सडक पुगेको अवस्थामा अहिले वडा नं। ३ को भट्टारगाउँसम्म सडकको ट्र्याक खुलेको छ ।
स्थानीय दीपक टमटाले हालसम्म सडक सञ्जालसँग नजोडिएको गाउँपालिका केन्द्रसम्म सडक पुग्नेमा विश्वास व्यक्त गरे ।
सडक पुगेपछि स्थानीयलाई यातायातमा सहज हुने उनको भनाइ छ । गाउँपालिकाका अध्यक्ष बोहोराका अनुसार भट्टारभन्दा अगाडिसम्म सडक पुगिसकेको छ भने सडक निर्माणको काम जारी छ । निकट भविष्यमै पालिका केन्द्र खण्डेश्वरीसम्म सवारी सञ्चालन हुने उनले अपेक्षा व्यक्त गरे । गाउँपालिकाका वडा नं। १ र २ भने सडक सञ्जालसँग तत्कालै जोडिने सम्भावना छैन । वडा नं। ३ को काफलधारसम्म सडक निर्माण भएमा सो वडाका स्थानीयका लागिसमेत राहत हुने अध्यक्ष बोहोराले बताए ।
सडकको निर्माण बिएनबी कन्स्ट्रक्सन सुर्खेतले गरिरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि धर्मसिंह धामीले चालु आव २०८२/८३ भित्र काम सम्पन्न नभए पनि आगामी आवमा पालिका केन्द्रसम्म सडक पु¥याउने लक्ष्यसहित काम भइरहेको बताए।
सडक नहुँदा विकासनिर्माणका सामग्री ढुवानी महँगो पर्नुका साथै विभिन्न आयोजना कार्यान्वयनमा समस्या हुँदै आएको गाउँपालिकाका उपाध्यक्ष देवकीदेवी बोहोराले बताइन । सडक विस्तारसँगै विकासनिर्माणका काममा सहजता आउने उनको अपेक्षा छ । गाउँपलिकाका अध्यक्ष बोहोराका अनुसार यसै आर्थिक वर्ष भित्र सडक काफलधारसम्म जोडिने छ । मकरीगाडबाट भट्टारसम्मको कडा चट्टानी भूभाग छिचोलेर सडक निर्माणको काम अघि बढेको छ ।