राष्ट्रिय परिचयपत्रको सर्भर पाँच दिनदेखि ठप्प

Friday May 8, 2026

पढ्न लाग्ने समय :


काठमाडौँः राष्ट्रिय परिचयपत्रको सर्भर पाँच दिनदेखि ठप्प रहेको छ। परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा आएको समस्याका कारण पाँच दिनदेखि सेवा ठप्प भएको हो।

सेवा ठप्प हुँदा देशभरका हजारौँ सेवाग्राही मर्कामा परेका छन् । गत वैशाख २१ गतेदेखि अवरुद्ध भएको प्रणाली शुक्रबारसम्म पनि सञ्चालनमा आउन नसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विकल्पको खोजी सुरु गरेको छ ।

लामो समयसम्म प्रणाली मर्मत हुन नसकेपछि विभागका अधिकारीहरू अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न गृह मन्त्रालय पुगेका छन् । विभागका अनुसार प्रणालीले काम नगर्दा उत्पन्न संकटबारे गृह मन्त्रालयसँग छलफल गरी पुरानै प्रणालीबाट काम अघि बढाउने वा अन्य कुनै वैकल्पिक बाटो अपनाउने भन्ने विषयमा निर्णय लिइनेछ ।

प्रणालीमा आएको खराबीले गर्दा राष्ट्रिय परिचयपत्रसँग आबद्ध सेवाहरू पूर्ण वा आंशिक रूपमा रोकिएका छन् । विशेषगरी नयाँ परिचयपत्र नम्बर भ्यालिडेट हुन नसक्दा राहदानी विभाग र जिल्ला प्रशासन कार्यालयहरूबाट हुने राहदानी जारी गर्ने प्रक्रिया रोकिएको छ ।

त्यस्तै परिचयपत्रमा रहेका व्यक्तिगत विवरण सच्याउन चाहने सेवाग्राहीहरू रित्तो हात फर्किनु परेको छ । सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आवश्यक पर्ने बायोमेट्रिक रुजु गर्ने कार्य ठप्प हुँदा ज्येष्ठ नागरिक र लक्षित वर्ग समस्यामा परेका छन् । त्यस्तै जन्म दर्ताको समयमा प्राप्त हुने व्यक्तिगत परिचय नम्बर जेनेरेट हुन छाडेको छ ।

योसँगै राष्ट्रिय परिचयपत्रको डेटा प्रयोग गर्ने अन्य सार्वजनिक सेवाहरू समेत प्रभावित भएका छन् । प्रणाली पहिले नै भ्यालिडेट भइसकेका र परिचयपत्र प्राप्त गरिसकेकाहरूको हकमा भने समस्या नरहेको विभागको दाबी छ ।

 


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।