‘बी’ डिभिजन लिगको उद्घाटनमा च्यासल र वीरगन्जको बराबरी

पढ्न लाग्ने समय :

च्यासल युथ क्लव र वीरगञ्ज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगको उद्घाटन खेलमा बराबरीको नतिजा सामना गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार भएको उद्घाटन खेलमा च्यासल र वीरगञ्ज युनाइटेडले गोलरहित बराबरीमा खेलेको हो । दुवै टोलीबाट धेरै अवसर सिर्जना गरे पनि गोल सम्भव नभएपछि अंक बाँडेका हुन् । चार वर्षअघिको ‘बी’ डिभिजन लिग वीरगञ्जले नवौं स्थानमा रहँदै समाप्त गरेको थियो । सिंगल राउन्ड रोबिनमा भएको उक्त लिगमा वीरगञ्जले १३ खेलमा चार जित, चार बराबरी र पाँच हारसहित १६ अंक जोडेको थियो । च्यासल भने सोही साल पुछारमा रहँदै शीर्ष डिभिजनबाट घटुवा भएको टोली हो । च्यासलले शीर्ष डिभिजनका १३ खेलमा एक जित, तीन बराबरी र नौ हारसहित ६ अंक मात्रै बटुलेको थियो ।
त्यतिबेला च्यासलसँगै बिग्रेड ब्वाइज क्लब पनि ‘बी’ डिभिजनमा घटुवा भएको थियो । बिग्रेड ब्वाइजले भने फागुन २६ गते श्रीकुमार क्लबलाई चुनौती पेस गर्नेछ । उक्त खेल अपराह्न ३ः३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु भएको लिगमा च्यासल, वीरगन्ज, बिग्रेड ब्वाइज र श्रीकुमारीसहित १४ क्लबको सहभागी छन् ।