नवजीवनका बचतकर्ताको भविष्य सुरक्षित गर्न मिश्रले गरे १६ बुँदे प्रतिबद्धता सार्वजनिक

Monday May 11, 2026

पढ्न लाग्ने समय :


धनगढी : नवजीवन सहकारी संस्था, धनगढीको अध्यक्षमा केशव मिश्रले उम्मेदवारी घोषणा गरेका छन्। उनले “सहकारी बचतकर्ताको भविष्य हो, सञ्चालक र तिनका परिवारको पेवा होइन” भन्ने नारासहित सहकारी सुधार तथा बचतकर्ताको हित संरक्षणका लागि १६ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको हो।

प्रस्तावित कार्यक्रमहरूमा सहकारीलाई सदस्यकेन्द्रित, पारदर्शी, उत्तरदायी तथा उत्पादनमुखी बनाउने विषयलाई प्राथमिकता दिइएको मिश्रले बताए। सहकारी शिक्षा तथा सचेतनामार्फत शेयर सदस्यहरूको सहभागिता बढाई “सदस्यद्वारा सञ्चालित” सहकारी बनाइने उनले उल्लेख गरेका छन। साथै खराब कर्जाका फाइलहरूको छानबिन गर्न विशेष समिति गठन गरी त्यस्ता फाइलहरू फछ्र्योट गरिने जनाइएको छ। स्थिर सम्पत्तिमा गरिएको लगानीको पुनर्विचारका लागि अध्ययन समिति गठन गरिने योजना पनि अघि सारिएको छ।

त्यसैगरी १ घर १ सदस्यको व्यवस्था लागू गर्दै निर्वाचन लक्षित निष्क्रिय सदस्य घटाई सक्रिय सदस्य मात्र रहने व्यवस्था मिलाइने उल्लेख छ। सदस्यहरूलाई क्रमिक रूपमा स–सानो बचत गर्ने बानीको विकास गराउने तथा बचत संस्कृतिलाई प्रोत्साहन गरिने जनाइएको छ।

कर्मचारी भर्ना प्रक्रिया तथा तहवृद्धिलाई पारदर्शी बनाइने र कर्मचारीहरूको विषयगत दक्षता तथा व्यावसायिकता अभिवृद्धिका लागि नियमित तालिम सञ्चालन गरिने प्रतिबद्धतामा उल्लेख गरिएको छ। सहकारीको वस्तुस्थिति, वित्तीय अवस्था, कारोबार तथा संलग्नता झल्किने श्वेतपत्र सार्वजनिक गरिने पनि बताइएको छ।

सञ्चालक, पदाधिकारी तथा व्यवस्थापन तहका कर्मचारीहरूको सम्पत्ति विवरण प्रत्येक ६ महिनामा सार्वजनिक गरिने योजना समेत राखिएको छ। सेवा प्रवाहलाई थप नम्र, मर्यादित तथा सदस्यमैत्री बनाउँदै कर्मचारीहरूले “म तपाईंलाई के सहयोग गर्न सक्छु ?” भन्ने संस्कृतिको विकास गर्ने लक्ष्य लिइएको छ।

शेयर सदस्यहरूलाई उत्पादनसँग जोड्न “नमुना नवजीवन उद्योग ग्राम” स्थापना गरिने तथा बैँकले प्रवाह गर्ने सेवाहरू सहज बनाउन प्रत्येक कार्यालयमा “सहकारी सहजकर्ता” सहितको हेल्प डेस्क स्थापना गरिने जनाइएको छ।

स्वास्थ्य क्षेत्रतर्फ उपचार खर्च वापत अधिकतम सेवा रकम वृद्धि गरिनेछ। महिलाहरूको हकमा स्त्री तथा प्रसूति रोग समस्या भएमा थप १० हजार रुपैयाँसम्म र निःसन्तान उपचार तथा क्ष्ख्ँ प्रयोगका लागि थप ५० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइने उल्लेख छ।

यसैगरी शेयर सदस्यहरूको स्वरोजगार प्रवर्धनका लागि विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गरिने, मल तथा बीउबिजन सेवा विभिन्न स्थानमा विस्तार गरिने र मधुमेह, उच्च रक्तचाप, थाइराइड लगायतका रोगहरूको उपचारका लागि “नवजीवन सहकारी क्लिनिक” स्थापना गरिने योजना सार्वजनिक गरिएको छ।

 


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक