दार्चुलाको नागुका मतदाताले गरे मतदान नगर्ने निर्णय

Friday January 30, 2026

पढ्न लाग्ने समय :


दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकामा पर्ने अति दुर्गम गाउँ नागुका स्थानीयले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेका छन्।

गाडी गुड्ने सडक पुग्नु त परको कुरा हो पैदल हिँड्नसमेत खासै बाटोसम्म नपुगेको बस्तीका स्थानीयले राजनीतिक दलप्रतिको वितृष्णा पोख्दै सो निर्णय गरेको स्थानीय नरेन्द्रबहादुर बमले बताए। माघ १ गते बसेको स्थानीयको भेलाले यहाँको गौरीशङ्कर माध्यमिक विद्यालय नागु मतदान केन्द्रमा रहेका मतदाता निर्वाचन प्रक्रियामा सहभागी नहुने तथा कुनै पनि राजनीतिक दललाई प्रचारप्रसारमा रोक लगाउने निर्णय गरेको उनले बताए। यहाँका १२१ जना स्थानीय भेला भएर गरिएको छलफलपछि सो निर्णय गरिएको अर्का स्थानीय ठगेन्द्रसिंह जुहारीले बताए।

स्थानीयले नागुक्षेत्र विकासनिर्माणका कारणले पिछडिएको क्षेत्र भएको भन्दै विकासका लागि पहल गर्न सङ्घर्ष समिति समेत निर्माण गरेका छन्। स्थानीय करनसिंह डडालको संयोजकत्वमा १५ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको उनले बताए।

भेलाले हाल निर्माणाधीन अवस्थामा रहेको दल्लेख–नागु–सीना सडकखण्डको निर्माण विगत लामो समयदेखि रोकिनुको कारण र यथाशीघ्र काम गर्न सम्बन्धित निकायमा अवगत गराउने पनि निर्णय गरिएको उनले बताए। “विकासनिर्माणले निकै पछाडि परेको यस क्षेत्रका मतदाता नेतासँग रिसाएका छन्, उनले भने ।”

गौरीशङ्कर मावि मतदान केन्द्रमा जम्मा ६०२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकृत प्रदीपसिंह धामीले बताए। साथै उनले सो क्षेत्रका स्थानीयले भेलामार्फत गरेका निर्णय जिल्ला निर्वाचन कार्यालयलगायत जिल्लास्थित सरोकार राख्ने कार्यालयमा स्थानीयले बुझाएको पुष्टि गरे। “दलप्रतिको वितृष्णाले स्थानीयले यस्तो निर्णय गरेका हुन सक्छन्, मतदानमा सहभागी भए सही नेतृत्व छान्नुस् उनले भने ।” मतदान गर्न पाउनु प्रत्येक नेपालीको अधिकार हो उनले थपे।

दार्चुलामा विभन्न दलका ११ जनाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। दार्चुलामा ९२ हजार ९४८ जना मतदाता रहेका छन्।


भर्खर

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान

घोडाघोडी मन्दिरमा रेलिङ

धनगढी : जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश

सुदूरपश्चिममा बिसुपर्व मनाइँदै

वैशाख : हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’