डडेल्धुरामा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणमा स्थानीयको विरोध
पढ्न लाग्ने समय :
डडेल्धुरा : डडेल्धुरामा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणमा स्थानीयले विरोध गरेका छन। जिल्लाको अमरगढी नगरपालिकाले दीर्घकालीने फोहोर व्यवस्थापनका लागि वडा ६ को गुनेगाड–छचोडा क्षेत्रमा निर्माण गर्न लागेको फोहोर व्यवस्थापन केन्द्र स्थानीयवासीको विरोधपछि पुनः विवादमा परेको हो।
स्थानीयको अवरोधका कारण निर्माण प्रक्रिया प्रभावित हुँदा सदरमुकामको फोहोर व्यवस्थापनको समस्या झन बढेको छ। वडा कार्यालयमा गरिएको तालाबन्दीका कारण सेवाग्राहीसमेत मारमा परेका छन् ।
बिहीबार बिहान अमरगढी नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा डोजरसहितको टोली प्रस्तावित केन्द्र निर्माण क्षेत्रमा पुगे पनि स्थानीयवासीले अवरोध गरेपछि टोली काम नगरी फर्किएको थियो । त्यसपछि आक्रोशित स्थानीयले नगरपालिकाविरुद्ध नाराबाजी गर्दै अमरगढी नगरपालिका–६ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
स्थानीयले आफ्नो माग पूरा नभएसम्म ताला नखोल्ने चेतावनी दिएका छन् । उनीहरूले पुनः जबरजस्ती डोजर ल्याएर काम गर्न खोजिए नगरपालिकाको कार्यालयमै समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
अमरगढी नगरपालिकाले संघीय आयोजना कार्यान्वयन इकाइमार्फत करिब ४ करोड रुपैयाँको लागतमा आधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माण गर्ने तयारी गरेको हो । नगरपालिकाका अनुसार सो प्रयोजनका लागि करिब १४ रोपनी जग्गा १८ लाख रुपैयाँमा खरिद गरिसकिएको छ भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी ठेक्का प्रक्रियासमेत अगाडि बढाइएको छ । तर स्थानीयको विरोधका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन।
स्थानीयवासीले प्रस्तावित क्षेत्रमा खानेपानीका मुहान, खेतीयोग्य जमिन तथा बस्तीनजिक रहेको भन्दै त्यहाा फोहोर व्यवस्थापन केन्द्र स्थापना गरिए वातावरणीय प्रदुषण बढ्ने, दुर्गन्ध फैलिने र स्थानीयको स्वास्थ्यमा असर पर्ने चिन्ता गरेका छन् ।
अमरगढी–६ का स्थानीय प्रेम टमाटाले नगरपालिकाले स्थानीयको सहमति बिना जबरजस्ती डोजर ल्याएर फोहोर फाल्न खोजेको आरोप लगाए । नगरपालिकाले अन्य उपयुक्त स्थानको खोजी गरी व्यवस्थित रूपमा फोहोर व्यवस्थापन गर्नुपर्ने उनले बताए । उनले वडा कार्यालयमा लगाइएको ताला माग पूरा नभएसम्म नखोलिने भन्दै फेरि डोजर ल्याइए नगरपालिकाको कार्यालयमै समेत तालाबन्दी गरिने चेतावनी दिए ।
यस्तै छचोडाका राजेन्द्र ताम्राकारले जिल्लाभरिको फोहोर आफ्नो बस्तीनजिक ल्याएर थुपार्ने योजना स्वीकार्य नभएको बताए । हाल सदरमुकाम क्षेत्रबाट निस्कने फोहोर अस्थायी रूपमा मालम गाउँ जाने दोबाटो क्षेत्रमा व्यवस्थापन गरिँदै आएको भए पनि त्यो उपाय पनि दीर्घकालीन समाधान नभएको नगरपालिकाको भनाइ छ ।
अमरगढी नगरपालिका–५ का वडाध्यक्ष तथा सरसफाइ समिति संयोजक टंक क्षेत्रीले फोहोर व्यवस्थापन नगरपालिकाको सबैभन्दा जटिल समस्या बनेको बताए । निर्वाचित भएर आएदेखि नै दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले सुरुमा उद्योग वाणिज्य संघको कार्यालयनजिक केही महिना अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिएको जानकारी दिए ।