जयवीरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान
पढ्न लाग्ने समय :
काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवामाथि सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० सम्बन्धी अनुसन्धान अगाडि बढाएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै उहाँलाई सात दिनभित्र विभागमा उपस्थित भई बयान दिन तथा आवश्यक कागजात र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम सूचना प्रकाशित गर्दै डडेलधुराको साबिक आसिग्राम गाउँ विकास समिति–५ स्थायी ठेगाना भई हाल काठमाडौँ बुढानीलकण्ठ बस्ने ३१ वर्षीय जयवीरसिंह देउवालाई सूचना प्रकाशित भएको मितिबाट बाटोको म्यादबाहेक सात दिनभित्र ललितपुरको पुल्चोकस्थित विभागको कार्यालयमा उपस्थित हुन भनेको छ ।
विभागका निर्देशक तथा प्रवक्ता उत्तमकुमार घिमिरेले आवश्यक विषयमा जानकारी लिनुपर्ने देखिएपछि देउवालाई विभागमा बोलाइएको जानकारी दिए । जयवीरसँग सम्बन्धित केही आर्थिक कारोबार, विभिन्न कम्पनीमा गरिएको लगानी तथा लगानीको स्रोतबारे लामो समयदेखि अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा केही वित्तीय कारोबारको स्रोत र प्रकृतिबारे थप विवरण आवश्यक देखिएकाले उनलाई औपचारिक रूपमा उपस्थित हुन आह्वान गरिएको हो ।
जयवीरको नाममा रहेका केही व्यावसायिक कम्पनी तथा त्यसमा भएको लगानीको स्रोतबारे विभागले अध्ययन गरिरहेको छ । साथै विवादास्पद व्यवसायी दीपक भट्टसँग रहेको भनिएको व्यावसायिक सम्बन्धबारे पनि अनुसन्धान भइरहेको बताइएको छ । सोही प्रकरणमा व्यवसायी भट्ट र उनका साझेदार सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा छन।
विभागले यसअघि पनि जयवीरसँग सम्पर्क गर्ने प्रयास गरेको भए पनि उनी विदेशमा रहेको र सम्पर्क हुन नसकेपछि सार्वजनिक सूचना जारी गर्नु परेको जनाएको छ । तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम आवश्यक कानुनी प्रक्रिया अघि बढाइने विभागले स्पष्ट पारेको छ ।