गौरा पर्व, आज नाउली वा नानी गौरा मनाइँदै
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, भदौ १३ गते । सुदूरपश्चिम प्रदेशको प्रशिद्ध मौलिक धार्मिक, सांस्कृतिक पर्व गौराको दोस्रो दिन आज ‘नाउली वा नानी गौरा’ धुमधामसँग मनाइँदै छ । ब्रतालू महिलाले गौराको पहिलो दिन (बिरुडा पञ्चमी) मा भिजाएका बिरुडा (पाँच प्रकारका अन्न) लाई आज (शुक्रबार) नजिकका नाउला, धारा, तलाउ, जलासयमा लगेर धोइपखाली गरिँदैछ ।
स्थानीय भाषामा गौराको दोस्रो दिनलाई ‘नाउली वा नानी गौरा’ भन्ने गरिन्छ । आज साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।

अध्यक्ष, सुपसास
गौरा पर्वका जानकार तथा सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयका अनुसार पञ्चमीमा भिजाएको विरुडा पष्ठीका दिन नाउला, धारा वा तलाउनमा लगेर धोइपखाली गर्ने र गौराको प्रतिमूर्ति बनाएर पुजाआजा गरिने भएकोले आज नाउली वा नानी गौरा भन्ने गरिएको हो । उनले भने– स्थानीय भाषामा कसैले यसलाई नाउली गौरा भन्छन् भने कसैले नानी गौरा । तर, मूलकुरा आज नाउला (कुवा), धारा, तलाउमा गौराको प्रतिमूर्तिको पुजाआजा गर्ने र बिरुडा धोइपखाली गर्ने दिन हो ।
सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, डडेल्धुरा र डोटीमा गौरा पर्व मनाइने गरेको छ । पछिल्ला दशकहरुमा कैलाली, कञ्चनपुर, काठमाडौं लगायतका स्थानमा समेत गौरा पर्व धुमधामसँग मनाइने गरेको छ ।
पौराणिक कथनअनुसार देवी गौरा (पार्वती) ले भगवान शिव (महेश्वर) लाई पतिका रुपमा पाउन निराहार निर्जल रही ब्रत उपासना गरेकी थिइन् । सोही पौराणिक मान्यता र विश्वासका साथ गौरा पर्व मनाइने गरिएको छ ।
गौराको तेस्रो दिन सप्तमीमा गौरालाई भित्राउने चलन छ । भने मुख्य दिन अष्टमीमा गौरा मनाइने गरिन्छ । यो दिनलाई दुर्वाष्टमी अथवा अठ्यावालीका रुपमा पनि मनाइन्छ । सप्तमीमा महिलाहरूले धारणा गर्ने विशेष प्रकारको धागो (दुबधागो) गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन गौराष्टमी अर्थात् अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ ।
तागाधारी पुरुषहरूले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरूले गौरा दिन दुबधागो धारणा गर्ने गर्दछन् । शुक्ल पक्षमा परेको गौरालाई उजेली र कृष्णपक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रहिआएको छ । यो वर्ष उजेली गौरा परेको छ । गौरा पर्वको आकर्षणका रुपमा परम्परागत र सुदूरपश्चिमको मौलिक ठाडो खेल, ढुस्को, धमारी, चैत, देउडा गाउने र खेल्ने गरिन्छ ।