कैलालीको घोडाघोडीमा १५ शय्याको नगर अस्पताल अलपत्र

Thursday June 25, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत नगर अस्पतालको काम अपूरै रहेको छ । सङ्घीय सरकारले स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले २०७७ मङ्सिर १५ गते देशभर एकै पटक ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेको थियो ।
त्यसै अन्तर्गत घोडाघोडी नगरपालिका–२, साडेपानीमा नगर अस्पताल निर्माण गर्ने योजना अघि बढेको थियो । अस्पताल अहिले एक तला भवन बनाएर अलपत्र छोडिएको छ । शिलान्यास भएको झन्डै छ वर्ष र ठेक्का सम्झौता भएको पाँच वर्ष पुग्न लाग्दा पनि अस्पताल भवन निर्माण अधुरै छ ।
नगरपालिकाले अस्पतालको भवन निर्माणका लागि २०७८ वैशाख २९ गते तत्कालीन राजेन्द्र निर्माण सेवा प्रालिसँग नौ करोड ८६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदारले अहिले नाम नै परिर्वतन गरेर वराह डेभलपर्स राखेको छ तर काम अगाडि बढ्न सकेको छैन । पटक पटक म्याद थप गरिए पनि ठेकेदारको बदमासीले कामले गति लिन सकेको छैन । अस्पताल निर्माणका लागि १८ करोड रुपियाँ लागत अनुमान गरिएको छ । दुई वटा भवन निर्माण गर्ने योजना भए पनि पहिलो भवनको काम नै अधुरो रहेकाले दोस्रो भवन निर्माणको प्रक्रियासमेत अघि बढ्न सकेको छैन ।
ठेकेदारसँग पटक पटक समन्वय र सम्पर्कको प्रयास गर्दा पनि ठेकेदार सम्पर्कमा नआएको घोडाघोडी नगरपालिकाका प्रमुख खड्कबहादुर रावतले बताए । सुरुमा निर्माण स्थलको जग्गा भोगाधिकारसम्बन्धी केही समस्या थियो । सो समस्या समाधान भइसकेपछि पनि ठेकेदारले काम नगरेको उनले बताए। ठेकेदारले हालसम्म एक करोड ५३ लाख २९ हजार तीन सय रुपियाँ भुक्तानी लिइसकेको छ । रकम लिने तर काम नगर्ने ठेकेदारका कारण हालसम्म भौतिक प्रगति १५ प्रतिशत मात्रै भएको छ । पेस्की रकम अनुसारको कामसमेत नभएको नगरपालिकाका इन्जिनियरको इन्जिनियर किशोर भट्टले बताए ।

ठेकेदारलाई जिम्मेवार बनाउन सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने स्थानीय दीपक शाहले बताए । ठेकेदारको बदमासी तथा लापर्बाही र सम्बन्धित निकायको गैरजिम्मेवारीले अस्पताल निर्माणमा ढिलाइ भएको उनले आरोप लगाए। तोकिएको समयमा अस्पताल निर्माणको काम पूरा नहुँदा स्थानीय बासिन्दा गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको स्थानीय राजु अवस्थीले बताए।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक