कैलालीको गोदावरीमा भीरबाट टेम्पो खसाल्ने १० वन कर्मचारी प्रहरी नियन्त्रणमा

Sunday June 14, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भीरमा खसालिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ।

शनिबार भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि चौतर्फी आलोचना भएको थियो। घटनाबारे अनुसन्धान अगाडि बढाउने क्रममा जिल्ला प्रहरीले वन कार्यालयका १० जना कर्मचारीलाई नियन्त्रणमा लिएर बयान लिइरहेको जनाएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन भिडियो, प्रत्यक्षदर्शीको भनाइ र सम्बन्धित पक्षसँग सोधपुछ भइरहेको छ। अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
उक्त घटनामा गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीले व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारीले भीरबाट खसालिदिएको आरोप लगाएकी छन्। उनले आफूले टेम्पो घर लैजाने र अब त्यहाँ व्यापार नगर्ने भन्दै आग्रह गर्दा पनि कर्मचारीले नसुनी टेम्पो भीरमा खसालेको बताएकी थिइन्।
यता वन कार्यालयले भने वन अतिक्रमण हटाउने अभियानका क्रममा गुडाउन नमिल्ने अवस्थामा रहेको टेम्पोलाई पन्छाउन खोज्दा भिरालो भूगोल र असन्तुलनका कारण दुर्घटनावश भीरमा खसेको दाबी गरेको छ।
घटनापछि वन कर्मचारीको कार्यशैलीमाथि सर्वसाधारणदेखि राजनीतिक वृत्तसम्म प्रश्न उठिरहेको छ भने पीडितलाई क्षतिपूर्ति दिनुपर्ने मागसमेत भइरहेको छ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक