सांसद आरेन राईको सरकारलाई चेतावनी : ‘सक्दैन भने प्रधानमन्त्रीले जिम्मेवारी छाड्नुपर्छ’
पढ्न लाग्ने समय :
संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै देश सञ्चालन गर्न नसक्ने अवस्था भए जिम्मेवारीबाट पछि हट्न आग्रह गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले सरकार अहिले बेखबर भएर बस्ने समय नभएको उल्लेख गर्दै जनतामाझ पुगेर सूचना संकलन गर्ने, संवाद गर्ने र शान्ति–सुरक्षा कायम गर्न सक्रिय रूपमा लाग्नुपर्ने बताए।
उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै देश र जनतालाई ‘टुहुरो’ बनाउने शैली स्वीकार्य नहुने बताए।
‘यदि प्रधानमन्त्री वा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठड्याए हुन्छ। त्यो पनि एउटा विकल्प हो,’ उनले भने, ‘प्रतिनिधिसभामा २८२ सांसद हुनुहुन्छ। कोही न कोहीले देशको नेतृत्व गरेर अघि बढ्न सक्छ।’
सांसद राईले सरकारलाई जिम्मेवारीबाट नभाग्न चेतावनी दिँदै या त प्रभावकारी रूपमा काम गर्न वा देश सञ्चालन गर्न नसक्ने स्वीकार गर्दै मार्ग प्रशस्त गर्न आग्रह गरे।
‘यो ढंगले अभिभावकविहीन भएर देश चलाउन पाइँदैन। देश र जनतालाई यसरी टुहुरो बनाउन मिल्दैन। त्यसैले सरकार कि त सक्रिय हुनुपर्यो, कि त सक्दिनँ भनेर हात उठाउनुपर्यो,’ उनले भने।
सुनसरी घटनापछि सर्वदलीय बैठक आयोजना गरेको भन्दै सांसद राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रशंसा समेत गरे। उनले सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दल र सरोकारवाला पक्ष एकजुट हुनुपर्ने तथा त्यसको नेतृत्व सरकारले लिनुपर्नेमा जोड दिए।