डाक्टरहरूको आन्दोलनका कारण देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा
पढ्न लाग्ने समय :
नेपाल चिकित्सक संघको आह्वानमा आज मंगलबार देशभरका अधिकांश अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै सेवा बन्द गरिएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा संघले ओपीडी सेवा स्थगित गरेको हो।
ओपीडी सेवा बन्द हुँदा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल लगायत देशभरका सरकारी तथा अन्य अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका बिरामी र उनीहरूका आफन्त समस्यामा परेका छन्। अस्पतालका ओपीडी टिकट काउन्टरमा सेवा बन्द रहेको सूचना टाँसिएको छ भने बिहानैदेखि उपचारका लागि आएका सेवाग्राही सेवा सञ्चालनको प्रतीक्षामा देखिएका छन्।
यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध नगर्न सबै अस्पताललाई आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा घटनाका दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको उल्लेख गर्दै उपचार सेवा निरन्तर सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपिल गरिएको छ।
तर नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र राज्य पक्षबाट भएको भनिएको दुव्र्यवहारको विरोधस्वरूप आन्दोलन जारी राखेको जनाएको छ। संघले मंगलबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ भने बुधबार सर्वपक्षीय भेला आयोजना गरी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने जनाएको छ।
संघका अनुसार साउन ९ गते वीरगन्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण तथा अस्पतालमा तोडफोड भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरिएको थियो। तर, घटनापछि प्रहरी अधिकारीबाट उल्टै चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार भएको आरोप संघले लगाएको छ।
संघले आक्रमणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न, साथै चिकित्सकहरूको मानमर्दन गरेको आरोप लागेका पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखमाथि पनि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेको छ।