महाकाली पुलको ठेक्का तोडियो, बाँकी काम आयोजना आफैले गर्ने

Tuesday May 19, 2026

पढ्न लाग्ने समय :


धनगढी : सडक सुधार तथा विकास योजना कार्यालयले महाकाली पुल आयोजनाको ठेक्का सम्झौता पूर्ण रूपमा अन्त्य गरेको छ ।

जेठ १ गते निर्माण कम्पनी कुमार–सिएफइसी जेभीसँगको ठेक्का सम्झौता अन्त्य गरिएपछि विगत तीन वर्षयता अलपत्र बाँकी काम कार्यालयबाटै अगाडि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको हो ।

कार्यालयले हाल अमानत प्रक्रियाबाट पुल निर्माण अगाडि बढाइएको जनाएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरका प्रमुख राजेशकुमार यादवले मनसुनको समयमा नदीको बहाबलाई नियन्त्रण गर्नका लागि गाइडबन्ड निर्माणलगायतका काम कार्यालयबाटै सञ्चालन गरिएको बताए ।

कार्यालयमा भएका उपकरणबाट बर्खाअगावै पूरा गर्ने गरेर ४५ लाख रुपियाँ बराबरको काम अगाडि बढाइएको कार्यालय प्रमुख यादवले बताए । उनले भने, “निर्माण बाँकी रहेको चार सय मिटरका सडक कालोपत्रे, पोखरी गाइडबन्डलगायतका बाँकी काम पनि सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।”

उनका अनुसार पुलको ९६ प्रतिशत निर्माण पूरा भएको छ । बाँकी ससाना कामका लागि नयाँ ठेक्का लगाउनु जरुरी छैन । कार्यालयमै उपलब्ध उपकरणबाट काम सञ्चालन गरिएको छ । विसं २०७४ मा सडक विकास आयोजनाले निर्माण कम्पनी कुमार–सिएफइसी जेभीसँग चार वर्षमा निर्माण पूरा गरिसक्ने गरेर तीन अर्ब २७ करोड रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाले महेन्द्रनगरमा महाकाली पुल आयोजनाको सम्पर्क कार्यालय स्थापना गर्दै महाकालीमा आठ सय मिटरको चार लेनको पुल, साढे आठ सय किलोमिटर सडक कालोपत्रे र दुई वटा पोखरीको निर्माण अगाडि बढाएको थियो ।

ठेक्का सम्झौता अनुरूप विसं २०७७ मा महाकाली पुल निर्माण तथा सडक कालोपत्रे पूरा गरिएको सो निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरकुमार पाण्डेले बताउनुभयो । पुल निर्माण सम्पन्न गरेर २०७८ सालदेखि पुल सञ्चालनमा पनि ल्याइएको उहाँको भनाइ छ ।

पोखरीको गाइडबन्ड निर्माण तथा केही सडक कालोपत्रेको काम भने म्याद थप र गाइडबन्डको नयाँ डिजाइन उपलब्ध नगराउँदा अगाडि बढाउन नसकिएको उनले स्पष्ट पारे । पुरानो डिजाइन अनुसार काम गर्दा नदीको भेलले भत्काएकाले समस्या उत्पन्न भएपछि नयाँ डिजाइन माग गर्दा उपलब्ध नगराइएपछि काम गर्न नसकिएको उनको भनाइ छ । उनले आफूहरूले तीन वर्षदेखि बारम्बार ताकिता गरेर कि त स्वीकृत गर्न वा या ठेक्का तोड्न माग गरिएको बताए ।

उनले कामको भुक्तानी पनि बाँकी रहेकाले नेपाल मध्यस्थता परिषद् उजुरी गरिएको बताए । परिषद्ले निर्णय गर्न बाँकी रहेकै अवस्थामा ठेक्का सम्झौता तोडिएको भन्दै उहाँले बाँकी भुक्तानी गर्न आग्रह गरे । उनले महाकाली पुल योजनाको हाल ९३ प्रतिशत भौतिक तथा ९५ प्रतिशत वित्तीय प्रगती पूरा गरेको दाबी गरे।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको